विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग

नेपालले आज आइसिसी विश्वकप लिग-२ मा स्कटल्याण्डको सामना गर्दैछ। अमेरिका, टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा खेलिने यो प्रतिस्पर्धा नेपाली समय अनुसार मंगलबार राति सवा ९ बजे सुरु हुनेछ।

नेपालको लागि यो खेल लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलेका ९ खेलमा नेपालले केवल एक खेलमा मात्र जित हासिल गरेको छ भने बाँकी आठ खेलमा पराजय भोगेको छ। फेब्रुअरीमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएपछि लिग-२ का अन्य खेलहरूमा नेपालले जित हासिल गर्न सकेको छैन।

लिग-२ मा सहभागी आठ टोलीमध्ये नेपाल हाल सातौं स्थानमा छ। पछिल्लो खेलमा अमेरिकासँग त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्दा २८६ रनको उच्च स्कोर बनाएको भए पनि नेपाल ५ विकेटको हारमा परेको थियो।

स्कटल्याण्डसँग नेपालले पछिल्लो पाँच भेटमा २ खेल जित्दै ३ खेलमा पराजय बेहोरेको छ। अघिल्लो वर्ष नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गरेको थियो, जहाँ टियु मैदानमा भएको पहिलो खेलमा नेपालले ३ विकेट र दोस्रो खेलमा २ विकेटको जित निकालेको थियो।

लिग-२ खेल्नुअघि नेपालले अमेरिकासँग टी-२० सिरिज खेलेको थियो र तीनै खेलमा जित हात पार्दै सिरिज क्लिन स्विप गरेको थियो। तथापि, लिग-२ को पहिलो खेलमा भने नेपालले अमेरिकासँग २ विकेटले पराजय बेहोरेको छ।

नेपालको टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल र सागर ढकाल रहेका छन्।