काठमाडौं, १३ कात्तिक – तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी तिथि अर्थात् धनतेरस पर्व आज विभिन्न स्थानमा विशेष उत्साहका साथ मनाइँदैछ। धार्मिक रीतिअनुसार यो दिन सुन, चाँदी, धातुका भाँडाकुँडा तथा सवारी साधन किनमेल गर्नु समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ। ज्योतिषाचार्य तथा वास्तुविद् नारायणप्रसाद दुलालका अनुसार, यस दिन गरिएका वस्तु खरिदले धनधान्यकी देवी लक्ष्मीको बास हुने धार्मिक मान्यता रहेको छ।
धनतेरसलाई धन्वन्तरि जयन्तीको रूपमा पनि मनाइन्छ, जसमा आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मजयन्ती मनाइन्छ। यस अवसरमा विशेष गरी धातुबाट बनेका सामान, सुन, चाँदी वा अन्य गरगहना किनेर आ–आफ्नो घरमा लक्ष्मीको स्वागत गर्ने प्रचलन छ। राष्ट्र बैंकले पनि हरेक वर्ष धनतेरसको अवसरमा विशेष सुन असर्फी बिक्री गर्दै आएको छ।

धनतेरसको दिन भाँडाकुँडा वा गरगहना किनेर टिका, पूजा, दीपावली जस्ता अन्य तिहार पर्वका दिनहरूको तयारी सुरु गरिन्छ। तिहारको सुरुवातकै रूपमा रहेको यो दिन बजारमा किनमेल गर्नेहरूको घुइँचो देखिन्छ। यस दिन कतिपय व्यक्तिहरूले तामा, पित्तल वा स्टिलका पूजाका थाली र भाँडा पनि किन्ने गर्छन्।
धनतेरससँगै तिहारमा गरिने यमदीपदानको पनि सुरु गरिन्छ। घरका सदस्यहरूका नाम लिएर दक्षिणतर्फ फर्केर दीपदान गर्दा परिवारमा सुख, शान्ति र दीर्घायु प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
यस वर्ष लक्ष्मी पूजाको मुख्य दिन कात्तिक १५ गते परेको छ भने भाइटीका कात्तिक १८ गते मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।





