क्यानबेरा — अस्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्स तृतीयले आफ्नो सम्बोधनका क्रममा अप्रत्याशित विरोधको सामना गर्नुपरेको छ। आइतबार अस्ट्रेलिया पुगेका राजाले सोमबार संसद् भवनमा दिइएको सम्बोधन पूरा गर्नेबित्तिकै, सिनेटकी आदिवासी सांसद लिडिया थोर्पले उनलाई अस्ट्रेलियाको राजा स्वीकार नगरेको कडा टिप्पणी गरिन्।
थोर्पले संसदमा चिच्याउँदै भनिन्, “यो तपाईंको भूमि होइन, तपाईं हाम्रो राजा होइन।” सुरक्षाकर्मीले एक मिनेटजति चिच्याइरहेकी थोर्पलाई संसद् भवनबाट बाहिर निकालेपछि स्थिति सामान्य बनेको थियो।
राजा चार्ल्सको भ्रमणका क्रममा आदिवासी अगुवा आन्टी भायोलेट सेरिडनले भने थोर्पको विरोधलाई अपमानजनक भनेकी छिन्। विरोधको बाबजुद, राजा चार्ल्स र रानी क्यामिलाले बाहिर पर्खिरहेका सयौं अस्ट्रेलियालीहरूसँग भेटघाट गरेका थिए।
थोर्पको विरोध भने यसैसँग रोकिने देखिएन। उनले बीबीसीसँगको कुराकानीमा आफूले राजालाई अस्ट्रेलियाको भूमि र आदिवासी समुदायको हकका बारेमा स्पष्ट सन्देश दिन चाहेको बताइन्। “सार्वभौम हुनका लागि कुनै भूमि चाहिन्छ, यो भूमि उनको होइन,” उनले भनिन्।
अस्ट्रेलियामा आदिवासी र अन्य नागरिकबीचको असमानता लामो समयदेखि विवादको विषय रहँदै आएको छ। आदिवासी समुदायलाई राजनीतिक अधिकार र मान्यता दिने जनमतसंग्रह पनि गत वर्ष असफल भएको थियो। यस मुद्दामा थप बहस हुने सम्भावना बलियो बनेको छ, विशेष गरी प्रधानमन्त्री एन्थोनी अल्बानिजीको सरकार आएपछि।
अस्ट्रेलिया, राष्ट्रमण्डलअन्तर्गतको देश भएकाले राजाले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्छन्, तर हालै राजतन्त्रबाट गणतन्त्र बन्ने बहसले पुनः चर्चा पाएको छ।