एनआरएनए साउथ अस्ट्रेलियाद्वारा दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अस्ट्रेलियामा :अस्ट्रेलियामा रहेका नेपाली समुदायले चाडपर्वको अवसरमा भेटघाट र जमघटलाई विशेष महत्वका साथ मनाउने प्रचलनलाई निरन्तरता दिँदै, साउथ अस्ट्रेलियामा दशैं, तिहार, न्हुदंया भिन्तुना, र छठ पर्व २०८१ का अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम एनआरएनए (गैरआवासीय नेपाली संघ) साउथ अस्ट्रेलियाले आयोजना गरेको थियो।

कार्यक्रम साउथ अस्ट्रेलियाको ग्ल्यान्डोर कम्युनिटी सेन्टर पार्कमा आयोजित थियो, जसको सभापतित्व एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक संजय पुरीले गरेका थिए। कार्यक्रममा नारी निकुञ्ज साउथ अस्ट्रेलियाकी संयोजक रिज्नु अधिकारीले सबै उपस्थित पाहुनालाई स्वागत मन्तव्य दिइन्।

साउथ अस्ट्रेलियाका बहु-सांस्कृतिक आयोगकी सदस्य मंजु खड्काले कार्यक्रममा बोल्दै नेपालीहरूको स्थानीय सरकारमा पहुँच बढ्दै गएकोमा खुसी व्यक्त गरिन्। उनले नेपाली चाडपर्वको संरक्षण र प्रवर्द्धनको लागि एकतामा जोड दिँदै मिलेर अघि बढ्न आग्रह गरिन्।

कार्यक्रममा अन्य वक्ताहरूको पनि उपस्थिति थियो। एनआरएन ओसियाना पूर्व सहसंयोजक रमेश जोशी र नवीन कँडेल, एनआरएनए आइसिसी सदस्य सुजन अधिकारी, जनसम्पर्क समिति साउथ अस्ट्रेलियाका संयोजक दिलीप पोखरेल, एडिलेड नेपालका पूर्व अध्यक्ष पुष्कर कोइराला, नेपाली भजन किर्तन समूह एडिलेडका उपाध्यक्ष दया पराजुली, सामाजिक अभियन्ता विष्णु बगाले र व्यवसायी रूपक बर्तौलाले उपस्थित सबैलाई चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यतिर एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक संजय पुरीले आगामी नेपाल फेस्टिभलको तयारीको बारेमा जानकारी दिए। साथै, साउथ अस्ट्रेलियामा पुनः पासपोर्ट नवीकरण कार्यक्रम ल्याउन लागिएको जानकारी पनि गराए, जसको मिति अझै तय हुन बाँकी रहेको बताए।

कार्यक्रमको सञ्चालन पब्लिक रिलेसन अफिसर देवेन्द्र खरेलले गरेका थिए, जहाँ बार्बिक्यूको व्यवस्था पनि गरिएको थियो।