अमेरिकाको नर्थ क्यारोलाइना राज्यको गीलफर्ड काउन्टीले नेपाली समुदायको दोस्रो ठूलो चाड दीपावली (तिहार)लाई मान्यता दिएको छ। यस अवसरमा गत बिहीबार आयोजित एक विशेष कार्यक्रममा गीलफर्ड काउन्टीले यस पर्वलाई महत्वपूर्ण मान्यता दिएको छ।
गीलफर्ड काउन्टीका आयुक्त ब्रान्डन ग्रेका अनुसार, नेपाली चाड पर्वलाई मनाउन सार्वजनिक बिदा दिने विषयमा विचार गरिएको छ। उनले भने, “दशैं र तिहारको अवसरमा नेपाली समुदायले बिदाको माग गरेका थिए, तर काउन्टीले सार्वजनिक बिदाका दिनको लागि निर्णय गर्न नसक्ने भएकाले यो मुद्दालाई नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाउने निर्णय गरिएको छ।”

घोषणापत्रमा दीपावली (तिहार) आगामी अक्टोबर २८ देखि नोभेम्बर २ सम्म मनाउने जनाइएको छ। यस घोषणाप्रति प्रतिक्रिया व्यक्त गर्दै नेपलिज् स्टुडेन्ट एसोसियसन युएनसीका अध्यक्ष बिनित अर्यालले गीलफर्ड काउन्टीको पहलको प्रशंसा गर्दै धन्यवाद दिएका थिए।
नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टी डेमोक्र्याट पार्टीका उपाध्यक्ष विनय अर्यालको सक्रियतामा नेपाली विद्यार्थीहरूको संगठन युएनसीजीको संयुक्त पहलमा दीपावलीको मान्यता प्राप्त भएको हो। उपाध्यक्ष अर्यालले यस उपलब्धिलाई “सभी नेपालीको जित”को रुपमा व्याख्या गरे।

उनी थप्नुभयो, “यो घोषणापत्र सार्वजनिक भएपछि स्थानीय तहमा पर्व मनाउने र मनाउनका लागि केही स्थलहरू उपलब्ध गराउने अवसर पनि सिर्जना हुनेछ।” यो निर्णयले गीलफर्ड काउन्टीमा रहेका नेपाली समुदायका सदस्यहरूलाई विशेष उत्साह प्रदान गरेको छ।

दीपावलीको मान्यता प्राप्त हुनु नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण कदम हो, जसले अमेरिका लगायत विश्वभर रहेका नेपाली समुदायमा आपसी एकता र सद्भावलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।





