राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पक्राउ गरेपछि पोखरामा रास्वपाले लगातार विरोध प्रदर्शन गरिरहेको छ। सभापतिको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै पार्टीका समर्थकहरूले दैनिक प्रदर्शन गर्दै आएका छन्, जसका क्रममा झडपहरू पनि भएका छन्।
यसैक्रममा, रास्वपाले आज कात्तिक ६ गते पनि पोखरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालका अनुसार दिउँसो १:३० बजे पोखराको जिरो किलोमिटरमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धता’ प्रदर्शनको आयोजना गरिएको छ।
रास्वपा सभापति लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कात्तिक ३ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको हो। उनलाई हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार पोखरामा अनुसन्धान पूरा भएपछि, लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पनि अनुसन्धानका लागि बुटवल लगिने तयारी छ।