रचना रिमालको प्रस्तुतिसहित अष्ट्रेलियाभर नारी निकुञ्जको तीज उत्सव

अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि यस वर्षको तीज विशेष बन्ने भएको छ। लोकप्रिय गायिका रचना रिमालको सांगीतिक प्रस्तुतिसहित ‘नारी निकुञ्ज तीज उत्सव २०२६’ अष्ट्रेलियाका ८ प्रमुख सहरमा आयोजना गरिने भएको हो।

एनआरएनए अष्ट्रेलियाअन्तर्गतको एनआरएनए वुमन फोरम–नारी निकुञ्ज अष्ट्रेलियाले विभिन्न राज्य तथा टेरिटोरीमा स्थानीय टोलीसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तस्मानियाबाहेक अन्य कार्यक्रमहरूमा रचना रिमालको प्रस्तुति रहनेछ।

रिमाल नेपाली संगीत क्षेत्रमा पछिल्लो पुस्ताकी चर्चित गायिकामध्ये एक हुन्। ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘ऊनको स्वीटर’ र ‘पानी छम्किने’ जस्ता लोकप्रिय गीतका कारण उनको ठूलो श्रोता वर्ग रहेको छ। अष्ट्रेलियाका विभिन्न सहरमा हुने तीज कार्यक्रममा उनले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछिन्।

यसपटकको तीज उत्सवलाई सांगीतिक र सांस्कृतिक कार्यक्रमसँगै सामाजिक सेवासँग पनि जोडिएको छ। कार्यक्रममार्फत संकलन हुने सहयोगको केही हिस्सा नेपालमा पाठेघर खस्ने समस्या अर्थात् युटेरिन प्रोल्याप्सबाट प्रभावित महिलाको उपचार तथा सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ।

विशेषगरी ग्रामीण क्षेत्र तथा आर्थिक रूपमा कमजोर अवस्थाका महिलालाई लक्षित गर्दै नारी निकुञ्जले लामो समयदेखि उक्त अभियानमा सहयोग गर्दै आएको छ। अष्ट्रेलियामा आयोजना गरिने विभिन्न कार्यक्रमबाट यसअघि पनि अभियानका लागि आर्थिक सहयोग जुटाइँदै आएको थियो।

नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय महिला संयोजक रिज्नू अधिकारीका अनुसार प्रवासमा नेपाली मौलिक संस्कृति र तीजको परम्परा जोगाउँदै महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै अघि बढाउने उद्देश्य कार्यक्रमको रहेको छ।

तीज उत्सवहरू सम्बन्धित राज्यका एनआरएनए राज्य समन्वय परिषद् र नारी निकुञ्जका स्थानीय टोलीको समन्वयमा सञ्चालन हुनेछन्।

आयोजकले यस वर्षको कार्यक्रमलाई केवल तीज मनाउने अवसरका रूपमा नभई अष्ट्रेलियामा रहेका नेपालीबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउने र नेपालका सहयोग आवश्यक महिलाका लागि योगदान जुटाउने साझा अभियानका रूपमा अघि बढाएको जनाएको छ।

Advertisement