मध्यपूर्वमा जारी युद्ध लम्बिँदै जाँदा अष्ट्रेलियाको अर्थतन्त्रमा इन्धन मूल्य, महँगी र ब्याजदरसम्बन्धी जोखिम बढ्दै गएको संघीय ट्रेजरीले चेतावनी दिएको छ।
अमेरिका र इरानबीचको समझदारी भंग भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ। यसको असर अष्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्यमा पनि देखिन थालेको छ। विशेषगरी डिजेलको मूल्य युद्ध सुरु हुनुअघिको तुलनामा अझै उच्च रहेको छ।
मेलबर्न, सिड्नी र ब्रिस्बेनमा पेट्रोलको मूल्य युद्धअघिको स्तरभन्दा केही कम देखिए पनि देशका अन्य क्षेत्रमा मूल्य उच्च रहेको जनाइएको छ।
संघीय सरकारले यसअघि तीन महिनाका लागि इन्धनमा लाग्ने कर र हेभी भेहिकल रोड युजर चार्ज आधा घटाएको थियो। जुलाई महिनाका लागि प्रतिलिटर करिब १६ सेन्टको छुट दिइएको भए पनि उक्त राहत आइतबारदेखि समाप्त हुँदैछ।
प्रधानमन्त्री एन्थोनी अल्बानिज र कोषाध्यक्ष जिम चाल्मर्सले इन्धन राहत सधैँ कायम राख्न नसकिने संकेत दिएका छन्। सरकारले अगस्ट महिनामा छुट विस्तार गर्ने औपचारिक योजना नरहेको बताए पनि सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको छैन।

कोषाध्यक्ष चाल्मर्सले अन्तर्राष्ट्रिय घटनाक्रमलाई सरकारले नजिकबाट निगरानी गरिरहेको बताएका छन्। युद्ध लम्बिँदै गए अष्ट्रेलियाको आर्थिक वृद्धि कमजोर हुने र महँगीमा थप दबाब पर्ने उनको भनाइ छ।
ट्रेजरीका अनुसार विश्व तेल बजारसँग आपूर्ति अवरोध सामना गर्ने क्षमता पहिलेको तुलनामा कमजोर बनेको छ। विश्वभरको तेल सञ्चिति घट्नु, लाल सागर क्षेत्रमा हुथी समूहको गतिविधि बढ्नु र युक्रेनी आक्रमणपछि रुसले डिजेल निर्यातमा लगाएको प्रतिबन्धले विश्व बजारमा थप दबाब सिर्जना गरेको छ।
वर्तमान अवस्था जारी रहे कच्चा तेलको मूल्य निकट भविष्यमा उच्च रहन सक्ने ट्रेजरीको आकलन छ। अमेरिकाले मध्यपूर्वमा स्थल सैन्य कारबाही सुरु गरे अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनीसमेत दिइएको छ।
सरकारको मे महिनाको बजेटमा तेलको मूल्य सेप्टेम्बरसम्म प्रतिब्यारेल २०० अमेरिकी डलर पुगे अष्ट्रेलियाको मुख्य महँगी दर करिब ७.२५ प्रतिशतसम्म पुग्न सक्ने सम्भावित अवस्था प्रस्तुत गरिएको थियो।
इन्धनको मूल्यवृद्धिले यातायात, खाद्यान्न, निर्माण र व्यवसाय सञ्चालन लागतसमेत बढाउने भएकाले यसको प्रभाव अर्थतन्त्रका अधिकांश क्षेत्रमा पर्ने देखिन्छ।
अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले बुधबार नयाँ महँगी तथ्याङ्क सार्वजनिक गर्दैछ। उक्त तथ्याङ्कपछि रिजर्भ बैंक अफ अष्ट्रेलियाले अगस्ट १० र ११ मा ब्याजदरबारे निर्णय गर्नेछ।
महँगी अपेक्षाभन्दा उच्च देखिए ब्याजदर पुनः बढ्न सक्ने सम्भावना रहेको अर्थशास्त्रीहरूले बताएका छन्।
यसैबीच, संघीय सरकारले पश्चिमी अष्ट्रेलियाको कराथामा नयाँ तेल प्रशोधन केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययन सुरु गर्ने तयारी गरेको छ। अध्ययनका लागि सरकारले ४ मिलियन अष्ट्रेलियन डलर उपलब्ध गराउने जनाइएको छ।
प्रधानमन्त्री अल्बानिजले मध्यपूर्व युद्ध जति लामो हुन्छ, अष्ट्रेलियामा त्यसको आर्थिक असर त्यति नै गम्भीर बन्ने बताएका छन्। सरकारले इन्धन आपूर्ति सुरक्षित राख्न र उपभोक्तालाई मूल्यवृद्धिको प्रभावबाट जोगाउन आवश्यक कदम चाल्ने उनको भनाइ छ।


