अस्ट्रेलियामा Skilled Visa आवेदनको नयाँ प्राथमिकता लागू

अस्ट्रेलिया सरकारले दक्ष कामदारसम्बन्धी विभिन्न भिसा आवेदन र नामांकन प्रक्रियाका लागि नयाँ प्राथमिकता व्यवस्था लागू गरेको छ। Ministerial Direction 119 अन्तर्गत लागू गरिएको नयाँ व्यवस्था २५ जुलाई २०२६ देखि प्रभावकारी भएको हो।

नयाँ निर्देशनले यसअघि लागू रहेको Ministerial Direction 105 लाई प्रतिस्थापन गरेको छ। अब Skilled Visa आवेदनको प्राथमिकता मुख्यतः आवेदकको पेशा र आवेदन दर्ता गर्दा उनी अस्ट्रेलियाभित्र वा बाहिर रहेको अवस्थाका आधारमा निर्धारण हुनेछ।

सरकारले कानुन कार्यान्वयन, रक्षा, स्वास्थ्य, शिक्षण र निर्माण क्षेत्रलाई राष्ट्रिय महत्वका क्षेत्रका रूपमा प्राथमिकतामा राखेको छ। कानुन कार्यान्वयन तथा रक्षा क्षेत्रसँग सम्बन्धित अस्ट्रेलियाभित्र रहेका आवेदकलाई सबैभन्दा उच्च प्राथमिकता दिइनेछ। त्यसपछि सोही क्षेत्रका विदेशमा रहेका आवेदकको आवेदन प्रक्रिया अघि बढाइनेछ।

निर्माण, स्वास्थ्य र शिक्षण क्षेत्रसँग सम्बन्धित अस्ट्रेलियाभित्र रहेका आवेदक तेस्रो प्राथमिकतामा पर्नेछन्। अन्य पेशाका अस्ट्रेलियाभित्र रहेका आवेदक चौथो र विदेशमा रहेका अन्य आवेदक पाँचौँ प्राथमिकतामा पर्ने व्यवस्था गरिएको छ।

नयाँ निर्देशन Subclass 186, 187, 189, 190, 191, 482, 489, 491, 494, 887 र 888 लगायत विभिन्न Skilled, Regional तथा Employer-Sponsored Visa मा लागू हुनेछ। यसअघि दर्ता भएका तर अन्तिम निर्णय नभएका धेरै आवेदन पनि नयाँ व्यवस्थाअन्तर्गत प्रक्रिया गरिनेछन्।

स्वास्थ्य क्षेत्रमा चिकित्सक, नर्सिङ सहयोगी, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, काउन्सिलर तथा वृद्ध वा अशक्त हेरचाहसम्बन्धी पेशालाई प्राथमिकतामा राखिएको छ। शिक्षणतर्फ विद्यालय शिक्षक, प्रधानाध्यापक, बाल हेरचाह केन्द्रका व्यवस्थापक, विश्वविद्यालयका प्राध्यापक तथा व्यावसायिक शिक्षा शिक्षक समावेश छन्।

निर्माण क्षेत्रमा निर्माण व्यवस्थापक, वास्तुविद्, सिभिल इन्जिनियर, इलेक्ट्रिसियन, क्रेन अपरेटर, वेल्डिङ तथा स्ट्रक्चरल स्टिलसम्बन्धी कामदारलगायतका पेशा प्राथमिकतामा परेका छन्।

नयाँ व्यवस्थाले विशेषगरी अस्ट्रेलियाभित्र रहेका योग्य आवेदकलाई विदेशमा रहेका समान पेशाका आवेदकको तुलनामा प्रक्रिया अघि बढ्न सहयोग गर्न सक्छ। तर प्राथमिकतामा पर्नुले भिसा स्वीकृत हुने वा निश्चित समयभित्र निर्णय आउने ग्यारेन्टी भने गर्दैन।

सरकारका अनुसार सबै आवेदकले सम्बन्धित भिसाका कानुनी तथा योग्यता मापदण्ड पूरा गर्नुपर्नेछ।

Advertisement