पर्थ आसपास भीषण डढेलो, बासिन्दालाई तत्काल स्थान खाली गर्न निर्देशन

अस्ट्रेलियाको पश्चिमी भागमा भीषण गर्मीको लहर जारी रहँदा पर्थ सहर आसपासका क्षेत्रमा डढेलोको आपतकालीन अवस्था घोषणा गरिएको छ। पर्थबाट करिब एक घण्टाको दूरीमा रहेका Julimar, Moondyne and Chittering क्षेत्रका बासिन्दालाई डढेलोले प्रत्यक्ष रूपमा घर तथा भौतिक संरचनामा खतरा उत्पन्न गरेपछि तत्काल सुरक्षित स्थानतर्फ सर्न आपतकालीन सेवाले निर्देशन दिएको छ।

आपतकालीन सूचनाअनुसार जुलिमार रोड, प्लन्केट रोड, बीच रोड र जेनजोदा रोडले घेरिएको क्षेत्र मा Bushfire Emergency Warning जारी गरिएको छ। ती क्षेत्रमा आगो तीव्र गतिमा फैलिरहेको, नियन्त्रण कठिन बन्दै गएको र ज्यान तथा सम्पत्तिमा गम्भीर जोखिम रहेको जनाइएको छ। सम्बन्धित क्षेत्रका बासिन्दालाई ढिलाइ नगरी घर छोड्न र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

यसैबीच, पर्थको केन्द्रीय व्यापारिक क्षेत्र (CBD) आसपासका केही भागमा पनि डढेलोका घटना देखिएका छन्। हालसम्म ती क्षेत्रमा घरमा प्रत्यक्ष खतरा देखिएको छैन। तर उच्च तापक्रम, सुक्खा वातावरण, कम आर्द्रता र तीव्र हावाहुरी का कारण आगोको जोखिम थप बढ्न सक्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिएका छन्।

चिटरिङ र मुन्डाइनका केही क्षेत्रहरूमा भने रातभरि अनुकूल मौसम अवस्था बनेपछि आपतकालीन चेतावनीलाई घटाएर ‘Watch and Act’ स्तरमा ल्याइएको छ। यद्यपि आगो पूर्ण रूपमा नियन्त्रणमा नआइसकेकाले त्यहाँका बासिन्दालाई उच्च सतर्कतामा रहन र आवश्यक परे तुरुन्त सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ।

यसअघि हिजो मात्र CBD बाट करिब ६ किलोमिटर उत्तरमा रहेको हर्ड्सम्यान लेक क्षेत्र मा लागेको डढेलो नियन्त्रणमा आएको थियो। तर पर्थको उत्तर–पश्चिमी भाग ओसबोर्न पार्क क्षेत्रमा अझै पनि Watch and Act चेतावनी कायम छ। आपतकालीन सेवाले त्यहाँको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

मौसम विभागका अनुसार पर्थ र आसपासका क्षेत्रमा आज तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्न सक्ने सम्भावना छ। यो गर्मीको अवस्था आगामी हप्ताको अन्त्यसम्म कायम रहने पूर्वानुमान गरिएको छ। साथै, उच्च हावासहितको आँधी–बेहरी र मेघगर्जन को जोखिमले हाल जलिरहेका डढेलोहरू अझ उग्र बन्न सक्ने चेतावनी दिइएको छ।

यही जोखिमलाई मध्यनजर गर्दै पर्थ बाहिरका ठूलो भू–भागमा Total Fire Ban लागू गरिएको छ। आगो बाल्ने, बाहिर खुला आगो प्रयोग गर्ने तथा डढेलो निम्त्याउन सक्ने सबै गतिविधिमा कडाइ गरिएको छ। नियम उल्लंघन गर्नेहरूलाई कडा कारबाही गरिने जनाइएको छ।

गर्मीको प्रभाव पश्चिमी अस्ट्रेलियामा मात्र सीमित नरही देशका अन्य भागमा पनि देखिने अनुमान गरिएको छ। मेलबर्नमा बुधबार तापक्रम ३४ डिग्री र बिहीबार ३७ डिग्री सम्म पुग्ने सम्भावना छ। त्यस्तै, एडिलेडमा लगातार छ दिन ३० डिग्रीभन्दा माथि तापक्रम रहने मौसम पूर्वानुमान गरिएको छ। एडिलेडको सबैभन्दा तातो दिन बिहीबार हुने र अधिकतम तापक्रम ३८ डिग्री पुग्ने बताइएको छ।

प्रशासनले जोखिम क्षेत्रमा रहेका नागरिकलाई आधिकारिक सूचना र आपतकालीन निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्न, आपतकालीन झोला तयारी अवस्थामा राख्न, सवारीसाधन तथा सम्पर्क माध्यम तयार राख्न र आवश्यक परे ढिलाइ नगरी सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। साथै, अनावश्यक यात्रा नगर्न र आपतकालीन सेवाको काममा बाधा नपुर्‍याउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Advertisement