अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने सरकारको नयाँ नियम लागू हुने मिति नजिकिँदै जाँदा, लोकप्रिय प्लेटफर्म Snapchatले आफ्नो तयारी सार्वजनिक गरेको छ।
डिसेम्बर १० देखि लागू हुने यो नीति अन्तर्गत १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका सबै खाता बन्द गरिनेछ।
Snapchatले आफूलाई “Age-restricted platform” को सूचीमा राखिएको निर्णयसँग असहमति जनाए पनि, नयाँ कानुनलाई पूरा रूपमा पालना गर्ने घोषणा गरेको छ।
कम्पनीले उमेर कम भएको आशंका गरिएका प्रयोगकर्तालाई अनिवार्य रूपमा आफ्नो उमेर प्रमाणित गर्न आग्रह गर्नेछ। प्रमाणित गर्न नसकेमा तिनीहरूको खाता सीधै निष्क्रिय गरिनेछ।
उमेर प्रमाणित गर्ने तीन विकल्प दिइनेछन्—सरकारी Photo ID, बैंकमार्फत ConnectID, वा k-ID प्रविधिबाट Facial Age Estimation।
कम्पनीका प्रवक्ताका अनुसार, Snapchat सधैं नजिकका साथी तथा परिवारसँग दृश्यात्मक संवादका लागि प्रयोग हुने प्लेटफर्म भएको र किशोर किशोरीका लागि सामाजिक सम्बन्ध मानसिक स्वास्थ्यको महत्वपूर्ण पक्ष हुने हुँदा यो निर्णयले आफूहरू ‘गहिरो रूपमा दुःखी’ बनेको बनाए ।
यद्यपि, सरकारले पास गरेको Online Safety Amendment (Social Media Minimum Age) Bill 2024 अनुसार, १६ वर्षमुनिका नयाँ खाता खोल्न नपाइने र पहिल्यै खोलिएको खाता अनिवार्य रूपमा हटाइने व्यवस्था छ।
सरकारी सूचीमा हालका लागि यी प्रमुख प्लेटफर्महरू समावेश छन्—Facebook, Instagram, Snapchat, TikTok, X (पूर्व Twitter), YouTube, Threads, Reddit र Kick। Meta, जसको मातहत Facebook र Instagram पर्छन्, ले पनि नयाँ कानुनअनुसार किशोर प्रयोगकर्ताका खाता क्रमशः बन्द गर्ने प्रक्रिया सुरु गरिसकेको छ।
अष्ट्रेलियाले लागू गर्न लागेको यो नीति विश्वकै पहिलो स्पष्ट आयु–नियन्त्रण सामाजिक सञ्जाल नीति मानिएको छ, जसले बालबालिकालाई अनलाइन जोखिम, दुरुपयोग र अत्यधिक स्क्रिन–टाइमबाट जोगाउने दाबी गरिएको छ। सरकारका अनुसार, प्लेटफर्महरूले ‘उमेर सत्यापनका लागि यथासम्भव प्रभावकारी कदम’ चाल्नुपर्नेछ र नियम उल्लङ्घन भयो भने कडा कानुनी कारबाही हुनेछ।
यस नीतिसँगै अष्ट्रेलियाका लाखौँ किशोर–किशोरीको सामाजिक सञ्जाल प्रयोग व्यवहारमा ठूलो परिवर्तन आउने निश्चित देखिन्छ l

अभिभावक तथा विज्ञहरूले यसलाई सुरक्षा तथा मानसिक स्वास्थ्यका हिसाबले महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।




