अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्तामाथि लगाइएको सामाजिक सञ्जाल प्रतिबन्धबारे प्रमुख टेक कम्पनीहरूले असहमति जनाउँदै पनि नयाँ कानुनको पालना गर्ने घोषणा गरेका छन्।
इन्स्टाग्रामकों मालिक कम्पनी Meta, TikTok को मालिक कम्पनी ByteDance, र Snapchat को मालिक कम्पनी Snap ले संसदमा मंगलबार भने अनुसार – यो कानुन युवाहरूको सुरक्षाका लागि प्रभावकारी नहुने विश्वास राखे पनि, उनीहरूले कानुन लागू भएपछि १६ वर्षमुनिका प्रयोगकर्ताका खाताहरू निष्क्रिय (deactivate) गर्न सुरु गर्नेछन्।

अष्ट्रेलियाको नयाँ कानुन अनुसार-कुनै पनि प्लेटफर्म(platform)ले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई रोक्न “उचित कदम” नचालेमा कम्पनीलाई ४९.५ मिलियन अष्ट्रेलियन डलरसम्म जरिवाना लगाइनेछ। कानुन आगामी डिसेम्बर १० बाट लागू हुँदैछ र यो विश्वकै उमेर-आधारित डिजिटल नीतिहरूमध्ये एक कडा नीति मानिएको छ।
यि कम्पनीहरूले अघिल्लो चरणमा यस्तो प्रतिबन्धले युवाहरूलाई अझ जोखिमपूर्ण अनलाइन प्लेटफर्महरूतर्फ धकेल्ने, र सामाजिक सम्पर्कबाट टाढा पार्ने तर्क दिएका थिए। तर हाल उनीहरूले सरकारको आदेश मान्दै कानुन कार्यान्वयनका तयारी अघि बढाएका छन्।
Snap की वरिष्ठ उपाध्यक्ष जेनिफर पार्क स्टाउट(Jennifer Park Stout) ले भिडियो लिंकमार्फत भनिन् — “हामी सहमत छैनौं, तर हामी कानुनको पालना गर्नेछौं।”
त्यस्तै TikTok अष्ट्रेलियाका लागि नीति प्रमुख एला वुड्स–ज्वाइस(Ella Woods-Joyce) ले भनिन् —“TikTok यो प्रतिबन्धको विरोधमा छ, तर हामी कानुनअनुसार काम गर्न तयार छौं र तयारी पूरा गर्दैछौं।”
Meta कोअष्ट्रेलिया–न्यूजील्यान्ड नीति निर्देशक मिया गार्लिक (Mia Garlick)ले जनाइन् कि कम्पनीले करिब ४.५ लाख १६ वर्षमुनिका प्रयोगकर्ताहरू (Facebook र Instagram दुवैमा) सँग सम्पर्क गरेर आफ्ना तस्बिर र डाटा मेटाउने वा १६ वर्ष पुगेपछि सुरक्षित रूपमा पुनः प्रयोग गर्ने विकल्प दिनेछ।
TikTok,Meta र Snap सबैले स्वचालित व्यवहार–विश्लेषण प्रविधि (Behaviour Tracking Software) प्रयोग गर्ने जनाएका छन्, जसले प्रयोगकर्ताको गतिविधि र व्यवहारका आधारमा वास्तविक उमेर पत्ता लगाउनेछ।
वुड्स–ज्वाइस(Woods-Joyce)का अनुसार — “यदि कुनै प्रयोगकर्ताले आफ्नो उमेर २५ लेखे तर उसको गतिविधि १६ वर्षमुनिका जस्तो देखियो भने, डिसेम्बर १० देखि ती खाताहरू स्वतः निष्क्रिय गरिनेछ।”
गल्तीवस १६ वर्षमुनि ठहरिएका प्रयोगकर्ताहरूका लागि Meta र TikTokले तेस्रो पक्षको age-estimation tool (उमेर पहिचान प्रणाली) मार्फत पुनःजाँच गराउने तयारी गरेका छन्। Snap ले भने गलत रूपमा ब्लक गरिएका प्रयोगकर्ताका लागि समाधान प्रक्रिया अझै विकास भइरहेको जनाएको छ।
यो कानुनले विश्वभरका सरकार र नीति निर्माताहरूको ध्यान तानेको छ किनकि अष्ट्रेलिया पहिलो विकसित देश हो जसले बालबालिकाको अनलाइन पहुँचमा यति ठुलो कानुनी कदम चालेको छ। यो कानुनले अमेरिका,बेलायत,क्यानडा र युरोपेली संघका डिजिटल सुरक्षा निकायहरूलाई पनि प्रेरित गर्न सक्ने अनुमान गरिएको छ।
युवाको मानसिक स्वास्थ्य,गोपनीयता र अनलाइन लतका समस्या बढ्दै गएपछि यो निर्णय आएको हो। अष्ट्रेलियाली अधिकारीहरूका अनुसार, यो कदमले बालबालिकाको डिजिटल सुरक्षा र सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवारी बढाउने अपेक्षा गरिएको छ।
यद्यपि Meta, TikTok र Snap ले यस निर्णयप्रति असहमति प्रकट गरेका छन्, उनीहरूले कानुनको पालना गर्न प्रतिबद्धता जनाएका छन्। आगामी डिसेम्बर १० पछि अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताका लाखौँ खाताहरू निष्क्रिय हुने निश्चित भएको छ — जसले सामाजिक सञ्जालको संरचना र प्रयोग प्रवृत्तिमा ठुलो परिवर्तन ल्याउने अनुमान गरिएको छ।





