लगातार वर्षा, पहिरो र बाढीको उच्च जोखिम

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको प्रभाव व्यापक रहेको जनाएको छ। अरब सागर तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले वातावरणमा थप आर्द्रता पुर्‍याउँदा वर्षा गतिविधि अझ तीव्र बनेको बताइएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर बदली रहने अनुमान गरिएको छ। विशेषगरी बागमती र लुम्बिनी प्रदेशसँगै पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

रातिको पूर्वानुमान
आज राति पनि मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा निरन्तर बदली रहने र वर्षा जारी रहने सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने विभागले जनाएको छ। राति मध्यम वर्षा हुने सम्भावना उच्च छ भने एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

संभावित जोखिम
विभागले लगातारको वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा सडक अवरोधको जोखिम बढ्ने चेतावनी दिएको छ। ठूला तथा साना नदी–नालामा पानीको सतह वृद्धि भई बाढी, डुबान र कटानको जोखिम उच्च हुने भएकाले विशेषगरी तराई र नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ।

सडक तथा पुलमा पानीको बहाव बढ्दा यातायात अवरुद्ध हुने, विद्युत् तथा सञ्चार सेवामा समस्या आउन सक्ने, कृषि क्षेत्रमा समेत क्षति पुर्‍याउने सम्भावना भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पूर्वतयारी गर्न विभागले आग्रह गरेको छ।

सतर्कता र पूर्वतयारी आवश्यक
मौसम विभागले किसानलाई आवश्यक सावधानी अपनाउन, नदी नजिक र पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, निरन्तरको वर्षाले स्वास्थ्य सम्बन्धी चुनौती ल्याउन सक्ने भएकाले सरसफाइ र खानेपानीमा ध्यान दिन पनि विभागले सुझाव दिएको छ।

spot_img