जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक, सार्वजनिक बिदा

spot_img

आश्विन १, २०८२ | काठमाडौं – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक मनाइँदैछ। सरकारको निर्णयअनुसार आज देशभर सार्वजनिक बिदा दिइएको छ भने सरकारी कार्यालयदेखि विदेशस्थित नेपाली नियोगसम्म राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा चलेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको राज्यको कठोर दमनका कारण कम्तीमा ७२ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा प्रहरी गोली, बल प्रयोग, आगजनी र भगदडमा परी प्रदर्शनकारी, सर्वसाधारण, कैदी तथा प्रहरी समेतको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

मन्त्रिपरिषदको निर्णय

भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएकाको सम्मानस्वरूप आश्विन १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज नेपालभर सार्वजनिक बिदा दिइएको छ। सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक निकाय र विदेशस्थित दूतावास तथा नियोगहरू बन्द छन्।

spot_img

घटनाको पृष्ठभूमि

भदौ २३ गते सुरु भएको प्रदर्शन भ्रष्टाचारविरुद्धको युवा आवाजका रूपमा देखा परेको थियो। सो दिनको आन्दोलनमा २१ जनाले ज्यान गुमाएका थिए। मृतकमध्ये दोलखाका अभिषेश चौलागाइ, सुनसरीका अभिषेक श्रेष्ठ, बाँकेका आयुष थापामगर, काठमाडौंका इश्वत अधिकारी, बाजुराका ओझन बुढा, कैलालीका गौरव जोशी, धनकुटाका छत्रमान कुसुमी, काभ्रेका दिलनारायण तामाङ, गोरखाका विमलबाबु भट्ट लगायत थिए।

उक्त दिनकै घटनामा काठमाडौंका बुद्धिबहादुर तामाङ, अर्घाखाँचीका माधव सारु मगर, भक्तपुरका योगेन्द्र न्यौपाने, सिन्धुपाल्चोकका योगबहादुर श्रेष्ठ, काठमाडौंका रसिक खतिवडा, उदयपुरका सन्तोष विक, बाग्लुङका सौरभ किशोर श्रेष्ठ, बझाङका सुवासकुमार श्रेष्ठ र सुनसरीका श्रीराम चौलागाइले पनि ज्यान गुमाएका थिए।

भदौ २४ गते आन्दोलन अझ उग्र बनेपछि प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको प्रतिकारमा थप ५२ जनाको मृत्यु भयो। दोस्रो दिन तीन जना प्रहरी, सुधारगृहबाट भाग्ने क्रममा ५ बालक र ५ कैदीको पनि मृत्यु भएको जनाइएको छ। त्यस्तै, भाटभटैनीसहितका व्यापारिक भवन र निजी घरमा १५ जनाको ज्यान गएको थियो, जसमा ३ जनाको मात्र पहिचान खुलेको छ।

राष्ट्रिय अन्त्येष्टि र श्रद्धाञ्जली

गत भदौ ३० गते मृतकहरूको शवयात्रा पशुपति आर्यघाटसम्म निकालिएको थियो। त्यहाँ उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। धेरै शवहरू परिवारको आग्रहअनुसार मृतकको आफ्नै जिल्ला पुर्‍याइएको थियो। हजारौं नागरिकले श्रद्धाञ्जली अर्पण गरेका थिए।

सरकारको आग्रह

गृह मन्त्रालयले ‘जेनजी आन्दोलन’ मा ज्यान गुमाएकाको बलिदानलाई सम्झँदै राष्ट्रिय शोक मनाउन आह्वान गरेको छ। मन्त्रालयले नागरिकलाई सहानुभूति प्रकट गर्न, आन्दोलनका क्रममा देखिएका दु:खद घटनाबाट सिक्न र आगामी दिनमा सुशासन, जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध हुन सरकार जिम्मेवार रहने प्रतिवद्धता जनाएको छ।

ऐतिहासिक मोड

विश्लेषकहरूले यो आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा एउटा गम्भीर मोडका रूपमा लिएको छन्। उनीहरूको भनाइमा, भ्रष्टाचारविरुद्ध उठेको यो सशक्त युवा आन्दोलनले मुलुकमा शासन प्रणालीप्रतिको अविश्वासलाई उजागर गर्‍यो। आन्दोलनका क्रममा बगाएको रगत र बर्बर दमनका पीडाले भविष्यमा पुनःसंरचनाको बहसलाई बल दिने अपेक्षा गरिएको छ।

spot_img