कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारले ४ GPA, १ लाख ५३ हजार अनुत्तीर्ण

spot_img

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए। प्रकाशित नतिजाअनुसार ६१.१७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने १३ हजार ५०३ जनाले ४ जीपीए हासिल गरेका छन्।

नतिजाअनुसार ३.६० जीपीए ल्याउने ५५ हजार ८९६ जना, ३.२० जीपीए ल्याउने ९४ हजार २६८ जना, २.८० जीपीए ल्याउने ६९ हजार ८१२ जना, २.४९ जीपीए ल्याउने ८ हजार ९६४ जना र २ जीपीए ल्याउने २३ जना रहेका छन्।

यस वर्ष अनुत्तीर्ण (एनजी) हुनेहरूको संख्या १ लाख ५३ हजार ८८२ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा एनजी ल्याएको बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना गरी कुल १७ जनाको परीक्षाफल रद्द गरिएको छ। साथै, आगामी भदौ २८ र २९ गते पूरक (ग्रेड वृद्धि) परीक्षा सञ्चालन हुने जानकारी पनि उनले दिए।

गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा पाँच हजार २०२ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ एक लाख ९८ हजार ८७५ जना छात्र र एक लाख ९७ हजार १३ जना छात्रा गरी कुल तीन लाख ९५ हजार ९०८ जना सहभागी थिए। आंशिकतर्फ भने १ लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी भएका थिए।

spot_img