
२० साउन, काठमाडौं । मदिरा उत्पादन गर्ने कम्पनी सागर डिस्टिलरी लिमिटेड ले साउन २८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई लक्षित गरेर सेयर खुलाउने जनाएको छ।
कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि निष्कासन हुन लागेको हो। यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन मेरोसेयर प्रणालीमार्फत साउन २८ गतेदेखि भदौ १ गतेसम्म दिन सकिनेछ। निर्धारित अवधिभित्र सम्पूर्ण आवेदन नआएमा बिक्री ढिलोमा भदौ ११ गतेसम्म खुला रहनेछ।
वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि मात्र सर्वसाधारणका लागि आईपीओ खुल्नेछ। क्रेडिट रेटिङ कम्पनी इन्फोमेरिक्स नेपाल बाट सागर डिस्टिलरीले “बी प्लस” रेटिङ पाएको छ। रेटिङ स्केलमा “एएए” सबैभन्दा मजबुत र “डी” सबैभन्दा कमजोर मानिन्छ। कम्पनीको वित्तीय विवरण अनुसार हाल यसको अवस्था भने कमजोर देखिएको छ। गत आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) जम्मा ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ रहेको छ।
सागर डिस्टिलरीले उत्पादन र प्रशोधन समूहअन्तर्गत नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायतका ब्रान्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ।





