बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वमा नयाँ सरकार गठनको तयारी

spot_img

बागमती प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। यस क्रममा सत्ता सहकार्यअन्तर्गत नेकपा एमालेले आफूले पठाउने मन्त्रीहरूको सूची टुंग्याएको छ। पार्टीको भागमा परेका ६ वटा मन्त्रालयका लागि एमालेले एक पुरानोलाई निरन्तरता दिँदै पाँच नयाँ अनुहारलाई मन्त्रीमा सिफारिस गरेको हो।

एमालेबाट स्वास्थ्य मन्त्रालयमा पुनः किरण थापामगर दोहोरिने भएका छन्। उनले यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरेका थिए र फेरि निरन्तरता दिने निर्णय गरिएको हो। बाँकी पाँच मन्त्रालयमा भने नयाँ अनुहारले जिम्मेवारी पाउने भएका छन्। श्रम, रोजगार तथा यातायात मन्त्रालयका लागि काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रालयका लागि दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याइएको छ।

यसअघि कांग्रेस दलको नेताको हैसियत गुमाएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका थिए। पार्टीको तीव्र दबाब र आन्तरिक समीकरणका कारण लामाले राजीनामा दिनुपरेको हो। उनले पदबाट राजीनामा दिनुअघि नै नेपाली कांग्रेसले इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता चयन गरिसकेको थियो। फलस्वरूप अब बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्दैछन्।

यसरी एमालेको सिफारिससहित नयाँ सत्ता समीकरण अन्तर्गत बानियाँ नेतृत्वको सरकार गठन हुने पक्का भएको छ। राजनीतिक परिदृश्य परिवर्तनसँगै बागमती प्रदेशको सरकारमा नयाँ अनुहारको प्रवेश हुने देखिएको छ भने काँग्रेस नेतृत्वको सरकारमा एमाले महत्त्वपूर्ण भागीदार बन्ने भएको छ। यसले आगामी दिनमा प्रदेशको शासन, नीति र कार्यक्रम कस्तो दिशातर्फ जाने हो भन्ने विषयमा ध्यान केन्द्रित भएको छ।

spot_img