
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुगेको हो भन्ने जवाफ दिन माग गरे। उनले चेतावनी दिँदै भने, “जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोस्, जनताले बिर्सने छैनन्, हामीले बिर्सन दिनेछैनौँ।”
सांसद शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामाले भ्रष्टाचारबाट उन्मुक्ति दिने जस्तो गलत प्रवृत्ति बढेको टिप्पणी गरे। उनले कटाक्ष गर्दै भने, “भ्रष्टाचारको अडियो बाहिरियो, घूस मागेको प्रमाणित भयो, अनि राजीनामा दिएपछि सबै पाप पखालियो। राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ।”
उनले छानबिनको फाइल बन्द गरी सम्बन्धित मन्त्रीलाई जोगाउने प्रयास भएको आरोप लगाउँदै प्रश्न गरे, “मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो, तर त्यही अडियोमा नाम आएका अन्य मन्त्री र पूर्वमन्त्रीलाई किन संरक्षण दिइएको छ? के तिनीहरूका लागि यो देशमा अर्कै कानुन छ?”
शाहले सरकार र जिम्मेवार निकायहरूलाई जनताप्रति जवाफदेही बन्न आग्रह गर्दै भिजिट भिसा प्रकरणलाई दबाउन खोजिए पनि नागरिक र विपक्षी दलले त्यसलाई निरन्तर उठाउने चेतावनी दिए।
