
अष्ट्रेलियामा आयोजना हुने AFC Women’s Asian Cup 2026 आगामी मार्च १ देखि सुरु हुने भएको छ। महिला फुटबलको सबैभन्दा प्रतिष्ठित महादेशीय प्रतियोगिता मानिने यस कपको २१औं संस्करण मार्च १ देखि २१ सम्म अष्ट्रेलियाका पाँचवटा प्रमुख भेन्युमा खेलिनेछ।
झन्डै दुई दशकपछि अष्ट्रेलियाले पुनः आयोजनाको अवसर पाएको हो। सन् २००६ मा पहिलो पटक घरेलु मैदानमा यो प्रतियोगिता आयोजना गर्दा उपविजेता बनेको अष्ट्रेलिया यसपटक उद्घाटन खेलमार्फत आफ्नो अभियान सुरु गर्नेछ। मार्च १ मा पर्थ स्टेडियममा हुने उद्घाटन खेलमा अष्ट्रेलियाले सन् २०२२ को AFC Women’s Asian Cup सेमिफाइनलमा पुगेको फिलिपिन्ससँग भिड्नेछ।
यस संस्करणमा बङ्गलादेश पहिलो पटक सहभागी हुँदैछ। विश्व क्रमाङ्क १२८ मा रहेको बङ्गलादेशले मार्च २ मा डिफेन्डिङ च्याम्पियन चीनविरुद्ध पहिलो खेल खेल्दै कठिन सुरुवात गर्नेछ।
चीन यसपटक लगातार दोस्रो उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। १६औं पटक प्रतियोगितामा सहभागी हुने चीनले अहिलेसम्मै एकपटक पनि शीर्ष चार भन्दा बाहिर नपरेको इतिहास बोकेको छ। यो पटक उनीहरू कीर्तिमानी १०औं उपाधिको खोजीमा हुनेछन्।
एसियाको शीर्ष टोली मानिएको जापान फिफा विश्व वरीयता ७) ले मार्च ४ मा चाइनिज ताइवानविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ। त्यस्तै, तीनपटक (२००१, २००३ र २००८) च्याम्पियन बनेको उत्तर कोरिया पनि करिब १६ वर्षपछि यस प्रतियोगितामा फर्कँदैछ। उत्तर कोरियाले अन्तिम पटक सन् २०१० मा भाग लिएको थियो, जहाँ उनीहरू उपविजेता बनेका थिए।
यसरी अष्ट्रेलियाको आयोजकको हैसियत, चीनको कीर्तिमानी खोज, जापानको शीर्ष स्थानको दाबेदारी, उत्तर कोरियाको पुनरागमन र बङ्गलादेशको डेब्युसँगै यसपटकको AFC Women’s Asian Cup 2026लाई विशेष र रोचक बनाउन सक्ने अपेक्षा गरिएको छ।
