पहिरोका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध, सवारी साधन बीच बाटोमै रोकिए

spot_img

अविरल वर्षापछि गएको पहिरोका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ। शनिबार रातिदेखि निरन्तर झरेको पानीले पहिल्यै गएको पहिरोको माथिल्लो भागबाट थप लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सडक खुलाउनका लागि हाल एक्स्काभेटर र लोडरको सहायतामा पहिरो पन्छाउने काम जारी छ। सडक अवरुद्ध भएपछि ठूला सवारीसाधन तथा कन्टेनरहरू बाटोमै रोकिएका छन् भने साना सवारी र मोटरसाइकलहरू जोखिम मोलेर आवतजावत गरिरहेका छन्।

पहिरोका कारण जुरे क्षेत्रमा विद्युत् पोल ढलेको छ भने महभीर खण्डमा सडक भासिएको प्रहरीले जनाएको छ। यसले गर्दा सडक यात्रा झनै जोखिमपूर्ण बनेको छ।

सडक अवरुद्ध हुँदा सिधा असर सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकाका स्थानीयमा परेको छ। तातोपानी नाका हुँदै आयात-निर्यात गर्ने कन्टेनरहरू पनि बीच बाटोमै रोकिएका छन्, जसले आपूर्तिमा असर पार्न सक्ने देखिन्छ।

सुरक्षा निकायले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै यात्रु र सवारीसाधनलाई सावधानी अपनाउन आग्रह गरेको छ।

spot_img