
क्यानबेरा – अष्ट्रेलियाली फेडेरल पुलिस (AFP) का अनुसार, २०२३–२४ वित्तीय वर्षमा मात्र देशभर ३८२ वटा आधुनिक दासत्व र मानव बेचबिखनसम्बन्धी उजुरी दर्ता भएका छन्। यसमा एसीटी (ACT) का घटनाहरू समेत समावेश छन्। तथ्याङ्क संयुक्त राष्ट्रसंघको विश्व मानव बेचबिखनविरुद्ध दिवस (World Day Against Trafficking in Persons) को अवसरमा सार्वजनिक गरिएको हो।
AFP का अनुसार, उजुरीहरूमा मानव बेचबिखन, ऋण–बन्धन, जबरजस्ती विवाह, दासत्व र गुलामी जस्ता विषय समावेश छन्। तीमध्ये जबरजस्ती विवाह सबैभन्दा बढी (९१ उजुरी) बनेका छन्।
“यो संख्या गत वर्षको ३४० को तुलनामा १२ प्रतिशत बढेको हो, जुन अहिलेसम्मकै उच्च हो,” AFP प्रवक्ताले भने।
“अझ चिन्ताजनक कुरा के छ भने, अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलोजीको अनुसन्धान अनुसार, प्रत्येक १ पीडित पत्ता लाग्दा अझै ४ जना अज्ञात रहन्छन्।”
ACT को विवरण
ACT Policing का अनुसार, विगत ४ वर्षमा ६ वटा मानव बेचबिखनका उजुरी दर्ता भएका छन्।
- २०२१–२२ मा १ उजुरी
- २०२२–२३ मा १ उजुरी
- २०२३–२४ मा २ उजुरी
- २०२४–२५ मा २ उजुरी
यी उजुरीहरूमा जबरजस्ती विवाह, दासत्व (servitude), र व्यक्तिलाई शोषण गर्ने उद्देश्यले यातायात गर्ने जस्ता आरोप समावेश छन्।
यसै वर्ष, एक सार्वजनिक सेवक संलग्न रहेको घटनामा एक किशोरीलाई अष्ट्रेलिया तस्करी गरिएको आशंका प्रकट भएको थियो, जुन मुद्दा अहिले ACT सुप्रिम कोर्ट मा पुगेको छ।
त्यस्तै, २०२३ मा कोलम्बियाबाट एक महिलालाई क्यानबेरामा तस्करी गरिएको आशंकामा प्रहरीले अनुसन्धान गर्दा Majura Park स्थित एक व्यवसायबारे जानकारी खोजेको थियो।
यसअघि २०१८ मा पनि छुट्टै मानव बेचबिखनसम्बन्धी अनुसन्धान गरिएको थियो।

पीडित पहिचानमा चुनौती
AFP कमाण्डर हेलेन श्नाइडरका अनुसार, धेरैजसो सम्भावित पीडितहरूले आफू पीडित भएको नबुझ्ने वा उजुरी गर्न डराउने प्रवृत्ति हुन्छ।
“अपराधी आफ्नै परिवार वा समुदायका सदस्य हुने हुँदा पीडितहरूले लाज, डर वा दबाबका कारण उजुरी गर्न सक्दैनन्,” उनले भनिन्।
उनका अनुसार, जबरजस्ती विवाहको पीडित दासत्व वा गुलामीको पनि शिकार हुन सक्छ भने जबरजस्ती श्रम गर्नेहरू ऋण–बन्धन वा धोका दिएर भर्ती गर्ने अपराधमा पनि पर्न सक्छन्।
“यी अपराधहरू प्रायः मिश्रित रूपमा देखिन्छन् र सजिलै छुट्याउन सकिँदैन,” उनले थपिन्।
“मानव बेचबिखन, दासत्व, जबरजस्ती श्रम र जबरजस्ती विवाहजस्ता अपराधहरू अष्ट्रेलियाकै समुदाय, विद्यालय, कार्यस्थल र छिमेकमै भइरहेका छन्।”
सहयोग र सम्पर्क
यदि तपाईं वा तपाईंको वरिपरिको कोही आधुनिक दासत्व वा मानव बेचबिखनको जोखिममा हुनुहुन्छ भने तुरुन्तै १३१ AFP (237) मा सम्पर्क गर्न वा AFP को गोप्य अनलाइन फर्म प्रयोग गर्न सकिन्छ।
आपतकालीन अवस्थामा Triple Zero (000) मा सम्पर्क गर्नुपर्नेछ।
यसैगरी, गोप्य सल्लाह र जानकारीका लागि Australian Red Cross वा १८०० ११३ ०१५ मा सम्पर्क गर्न सकिन्छ।
तथ्याङ्कले देखाउँछ – उजुरीहरू सिमित भए पनि, वास्तविक पीडितहरू अझै धेरै छन्, जो डर, लाज र असुरक्षाका कारण सतहमा आउन सकेका छैनन्।
