Sydney New Year’s Eve Fireworks अब टिकट प्रणालीमा? शुल्क लाग्ने प्रस्ताव परिषदमा बहसको चरणमा

spot_img

विश्वप्रसिद्ध Sydney New Year’s Eve Fireworks कार्यक्रम अब निःशुल्क रहन नपाउने सम्भावना देखिएको छ। North Sydney Council ले Blues Point Reserve मा आयोजना हुने आतिशबाजी अवलोकन स्थलमा टिकट प्रणाली लागू गर्ने प्रस्ताव अघि सारेसँगै यस विषयमा व्यापक बहस सुरु भएको छ।

परिषदको प्रारम्भिक योजनाअनुसार, यस वर्ष आतिशबाजी हेर्न चाहने दर्शकहरूका लागि ८,००० वटा टिकट $५० मा बिक्री गरिनेछ। उक्त प्रस्ताव कार्यान्वयन भएमा चार सदस्यीय परिवारलाई $२०० तिर्नुपर्ने हुन सक्छ। परिषदले यस योजनाबाट $४ लाख अष्ट्रेलियन डलर राजस्व संकलन हुने अनुमान गरेको छ।

प्रस्तावित योजनाअनुसार, टिकट व्यवस्थापनमा $९५,००० खर्च हुने बताइएको छ, भने बाँकी $३ लाख रकम फोहोर व्यवस्थापन, सुरक्षा, भीड नियन्त्रण, आपतकालीन व्यवस्थापन लगायत कार्यक्रम व्यवस्थापनसँग सम्बन्धित सेवामा प्रयोग गरिने योजना रहेको परिषदले जानकारी दिएको छ।

spot_img

परिषदले यस प्रस्तावमार्फत कार्यक्रममा सहभागी हुने दर्शकहरूलाई सुरक्षित, व्यवस्थित र सफा वातावरण प्रदान गर्न सकिने दाबी गरेको छ। तर, स्थानीय बासिन्दा तथा नियमित दर्शकहरूबीच आतिशबाजी कार्यक्रममाथि शुल्क लगाइनु उचित हो वा होइन भन्ने विषयमा विभाजित मत देखिएको छ।

कतिपयले यो निर्णयलाई सार्वजनिक कार्यक्रममा पहुँच सीमित गर्ने र आर्थिक आधारमा सहभागिता विभाजन गर्ने खालको कदम भनेका छन्, भने अरूले परिसर व्यवस्थापन सुधारका लागि व्यावहारिक पहलका रूपमा लिएको टिप्पणी गरेका छन्।

Sydney New Year’s Eve Fireworks कार्यक्रम केवल अष्ट्रेलियाली जनतामाझ मात्रै होइन, अन्तर्राष्ट्रिय पर्यटकहरूबीच पनि अत्यन्त लोकप्रिय छ। हजारौं दर्शकहरू हरेक वर्ष सिड्नी हार्बर ब्रिज र ओपेरा हाउसको पृष्ठभूमिमा गरिने आतिशबाजी अवलोकनका लागि सहभागी हुने गर्दछन्।

यसबारेमा अन्तिम निर्णय परिषदको आगामी बैठकमा गरिनेछ। परिषदको निर्णयपछि मात्रै कार्यक्रमको स्वरूप स्पष्ट हुनेछ।

spot_img