NCA को टोली पर्थ प्रस्थान गर्दै, कप्तानीको जिम्मा आशिष देवकोटालाई

क्यानबेरा, अप्रिल १७ – ओसियाना नेपाली स्पोर्ट्स मिट २०२५ मा सहभागी हुन नेपालिज क्रिकेट एशोसिएसन क्यानबेराको क्रिकेट टोली आज बिहीबार पर्थ प्रस्थान गर्दै छ। प्रतियोगिता पर्थस्थित ब्रिटानिया रोड रिजर्भ, वेस्ट लिडरभिलमा अप्रिल १८ देखि २१ सम्म सञ्चालन हुने छ। यस वर्षको प्रतियोगिताका लागि क्यानबेराबाट १३ सदस्यीय टोली छनोट गरिएको छ, यसपटक टोलीको कप्तानी आशिष देवकोटाले सम्हाल्ने छन।

टोलीमा बसन्त भट्ट, सञ्जय भट्ट, प्रशान्त बिस्ट, विवेक कंडेल, सरोज कार्की, आशिष लम्साल, किशोर नेपाल, सुमित पडाल, सौरव प्रसाई, सुमित रिमाल, अनिल सापकोटा र प्रबिन थापा रहेका छन्। प्रशिक्षकको भूमिकामा अजय लामा रहेका छन् भने टोली व्यवस्थापनको जिम्मेवारी संजीव कुशवाहाले सम्हालिरहेका छन्। टोली प्रस्थान अघि कप्तान आशिष देवकोटाले भने, “हामीले यसपटक ब्यालेन्स्ड र आत्मविश्वासी टोली तयार गरेका छौं। सबै खेलाडीहरूमा जोश, समर्पण र तयारी प्रशस्त छ। हामी सबै राज्यका टोलीहरूसँग कडा प्रतिस्पर्धा गर्न पूर्ण रुपमा तयार छौं।”

बुधबार साँझ टोलीको विदाई कार्यक्रम आयोजना गरिएको थियो, जहाँ Nepalese Cricket Association Canberra का महासचिव सुमित पडालले यो सहभागिता क्यानबेराको लागि गर्वको विषय भएको बताए। उनले भने, “यस्तो किसिमका प्रतियोगिताहरूले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न उत्प्रेरित गर्छ। हामीले जतिसक्दो बलियो टिम तयार पारेका छौं र यो सहभागिता आफैंमा एक उपलब्धि हो।” यस यात्रामा टोलीलाई साथ र समर्थन दिने उद्देश्यले Success Education and Visa Services ले प्रायोजन गरेको छ। NCA उक्त सहयोग प्रति आभार प्रकट गर्दै समुदाय र व्यवसायिक संस्थाहरूको हातेमालोले मात्रै यस्ता अभियानहरू सफल हुने बताएका छ ।