अष्ट्रेलियामा विद्यार्थी भिसा रद्द, सतर्क रहनुहोस्!

पर्थ एयरपोर्टमा हालै एक अन्तर्राष्ट्रिय विद्यार्थीको Subclass 500 भिसा रद्द गरिएको छ। जब उनी अष्ट्रेलिया अवतरण गरे, बोर्डर अफिसरहरूले नियमित जाँचका क्रममा उनको मोबाइल फोन चेक गरे। सो क्रममा उनी अध्ययन संस्थानमा असाइनमेन्ट बुझाउनका लागि कसैलाई पैसा तिरेर गराएको प्रमाण भेटियो। यो भेट्टाएपछि अफिसरहरूले उनलाई ‘Genuine student’ होइन भन्ने ठहर गर्दै Migration Act 1958 को धारा 116 अन्तर्गत तुरुन्तै भिसा रद्द गरिदिए।

विद्यार्थी भिसामा अष्ट्रेलिया आउँदा अध्ययन नै मुख्य उद्देश्य हुनुपर्छ। तर पछिल्लो समय सामाजिक सञ्जालमा “assignment help” भन्दै विभिन्न समूह र व्यक्तिहरूले विद्यार्थीलाई फसाउने प्रयास गरिरहेका छन्। धेरै विद्यार्थीहरूले अध्ययनको चाप कम गर्न वा अन्य कारणले यस्तो सहयोग खोज्ने गरेका छन्। तर, यस्तो गैरकानुनी गतिविधिमा संलग्न हुँदा भिसा मात्र होइन, सम्पूर्ण करिअर खतरामा पर्न सक्छ। भिसा अधिकारीहरूले एयरपोर्टमै मोबाइल फोन जाँच गर्ने प्रवृत्ति बढाउँदै लगेका छन्, जसले गर्दा कुनै पनि गलत कदम तुरुन्तै दण्डनीय बन्न सक्छ।

अष्ट्रेलियाको विद्यार्थी भिसामा बस्दा सरकारले तोकेका भिसाका मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्छ। जस्तै, विद्यार्थीहरूले एउटा fortnight मा अधिकतम 48 घण्टा मात्र काम गर्न पाउने नियम छ, त्यसभन्दा बढी काम गरेमा भिसा उल्लङ्घन मानिन्छ। अध्ययनमा वेवास्ता गर्दा, अवैधानिक रूपमा काम गर्दा वा कुनै गैरकानुनी गतिविधिमा संलग्न हुँदा भिसा खतरामा पर्न सक्छ।

यसरी, विद्यार्थी भिसामा अष्ट्रेलिया आएका सबैले सतर्कता अपनाउन आवश्यक छ। नियमहरूको पालना गर्नुपर्छ, गैरकानुनी गतिविधिबाट टाढा रहनुपर्छ, र कुनै समस्या आएमा तुरुन्तै उचित कानुनी सल्लाह लिनुपर्छ। भिसा सुरक्षाको लागि सतर्क रहनुहोस्, नियमअनुसार अध्ययन र काम गर्नुहोस्, र अनावश्यक जोखिम मोल्नबाट बच्नुहोस्।