पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्ने तयारी भएको दाबी, विरोधमा जनआन्दोलन समिति

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ वा नजरबन्द गर्ने तयारी भएको भन्दै कडा विरोध गरेका छन्।

शनिबार जारी विज्ञप्तिमा सुवेदीले पूर्वराजालाई बदनाम गराउने र घटनासँग जोड्ने प्रयास भइरहेको दाबी गरेका छन्। यस्तै, यदि यस्तो कदम चालियो भने देशभरि स्वतःस्फूर्त विरोध हुने चेतावनी दिएका छन्।

सुवेदीका अनुसार तीनकुनेमा भएको प्रदर्शनमा सरकारले नियोजित रूपमा घुसपैठ गराई सभा बिथोल्ने प्रयास गरेको थियो। प्रहरी हस्तक्षेपका कारण हिंसा भड्किएको उनको आरोप छ।

उनले आन्दोलनका कमान्डर दुर्गा प्रसाईँसहित रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल तथा आफूलाई पनि पक्राउ वा नजरबन्दमा राख्ने योजना बनेको दाबी गरेका छन्।

सुवेदीले जनताको आन्दोलन कुनै नेताको इसारामा नचल्ने भन्दै आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पारेका छन्।