मेलबर्नमा यही मार्च १५ मा आयोजना हुन लागेको नेपाल फेस्टिभल लाई लिएर नेपाली समुदायमा उत्साह बढ्दै गएको छ। विशेषगरी अष्ट्रेलियामा जन्मिएका वा अधिकांश समय यहाँ बिताएका दोस्रो पुस्ताका नेपालीहरु यो महोत्सवलाई लिएर अझ बढी उत्साहित देखिन्छन्।
यस पटकको नेपाल फेस्टिभलमा १३० भन्दा बढी बालबालिकाले सांस्कृतिक प्रस्तुति दिने तय भएको छ। नेपाली भाषा विद्यालयमा अध्ययनरत बालबालिकाले गायन, नृत्य, प्रहसनदेखि कार्यक्रम सञ्चालनसम्मको जिम्मेवारी सम्हाल्दैछन्। यस्तै, १९ भन्दा बढी दोस्रो पुस्ताका युवाहरु महोत्सवमा स्वयंसेवकका रूपमा सहभागी हुन इच्छुक देखिएका छन्।
अघिल्ला वर्षहरुमा नेपाल फेस्टिभलमा पहिलो पुस्ता अर्थात् नेपालबाट आएका नेपालीहरुको वर्चस्व देखिन्थ्यो। तर, यस पटक भाषा, संस्कृति र परम्पराबारे जान्ने, सिक्ने र यसलाई अगाडि बढाउने जिम्मेवारी नयाँ पुस्ताले लिएको देखिन्छ। नेपाली भाषा विद्यालयमा जाने बालबालिकाको संख्या बढ्नु, समुदायसँगको जोड बलियो हुनु र नेपालप्रति अपनत्व जाग्नु यसका केही उदाहरण हुन्।
नेपाल फेस्टिभलको अर्को मुख्य आकर्षण सांस्कृतिक परेड हुनेछ, जसमा नेपालका हिमाल, पहाड र तराईका विविध जातजाति, भाषा र परम्पराको झल्को प्रस्तुत गरिनेछ। यसले नेपाली समाज आफैंमा बहुसांस्कृतिक पहिचान बोकेको समुदाय भएको सन्देश दिनेछ।
यस पटकको नेपाल फेस्टिभल केवल मनोरञ्जनात्मक मात्र होइन, नेपाली समुदायका लागि भाषा, संस्कृति, परम्परा र पहिचानलाई निरन्तरता दिने महत्त्वपूर्ण अवसर बन्ने देखिन्छ। दोश्रो पुस्ताको उल्लेखनीय उपस्थिति र सक्रियता यो महोत्सवको अर्को महत्वपूर्ण विशेषता हुने निश्चित छ।





