काठमाडौं । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको किट विश्वविद्यालयमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवा सुनील लम्सालले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार बिहान भुवनेश्वर पुगेका लम्सालले भारतीय समाचार एजेन्सी एनआईसँग कुरा गर्दै भने, “मैले मेरी छोरी गुमाएको छु । धेरै अन्य नेपाली विद्यार्थीहरू यहाँ अध्ययन गरिरहेका छन् । मिडियामा केही विद्यार्थीहरूलाई होस्टेलबाट निकालिएको भन्ने समाचार आएको छ, जुन सही होइन । यस्तो घटना दोहोरिनु हुँदैन ।”
उनले विश्वविद्यालय प्रशासनले कुनै प्रतिक्रिया नजनाएको बताउँदै भने, “यी संस्थाहरू नेपाल पुगेर विद्यार्थीहरूलाई यहाँ अध्ययन गर्न भर्ना गराउँछन् । तर, पछि उनीहरूमाथि दुर्व्यवहार हुन्छ । यो विषयमा सत्य तथ्य बाहिर आउनु आवश्यक छ ।”
सुनील लम्सालले ओडिशा सरकार र प्रहरी प्रशासनमाथि विश्वास रहेको बताउँदै छोरीको मृत्यु प्रकरणमा न्याय पाउने आशा व्यक्त गरेका छन् । “मैले मेरी छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएको थिएँ । हामीलाई आशा छ, सरकारले यस घटनामा न्याय सुनिश्चित गर्नेछ ।”
प्रकृति लम्सालको शव आइतबार साँझ उनको होस्टेल कोठामा फेला परेको थियो । भारतीय प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।






