अष्ट्रेलियामा अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने वन नेसन पार्टीको प्रतिबद्धता

अष्ट्रेलियामा अवैध रूपमा बसिरहेका ७५हजार आप्रवासीलाई तुरुन्त निष्कासन गरिने नीति लागू गर्ने वन नेसन पार्टीले प्रतिबद्धता जनाएको छ ।
भिसा अवधि समाप्त भएर पनि बसेका,अवैध रूपमा कार्यरत वा आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरूलाई तुरुन्त निष्कासन गरिने सो पार्टीले प्रतिवद्धता जनाएको हो । पार्टी नेतृ सेनेटर पाउलिन ह्यान्सनले अहिलेको आप्रवासन नीतिले अष्ट्रेलियाली नागरिकहरूको हितलाई प्राथमिकता नदिएको बताउँदै नयाँ प्रस्ताव सार्वजनिक गर्नु भएको हो ।
वन नेसन पार्टीको नेतृ सेनेटर ह्यान्सनले सरकारको नीति असफल भएको बताउनु भयो । एन्थोनी एल्बानिजी नेतृत्वको सरकारले आप्रवासनलाई स्वीकृति दिएकोले आवास संकटलाई झन् चर्काइरहेको ,मुद्रास्फीति बढाइरहेको छ र सार्वजनिक सेवामा अत्यधिक दबाब सिर्जना गरिरहेको उहाँको आरोप छ ।

आप्रवासन दरमा ठूलो कटौती गर्ने प्रस्ताव:


अष्ट्रेलियाको राजनीतिक दल मध्येको वन नेशनलले वार्षिक आप्रवासन दरलाई कडाई गर्न प्रस्ताव राखेको छ ।
पार्टीका अनुसार हालको लेबर सरकार अन्तर्गत एक वर्षमा ७लाख भन्दा बढी आप्रवासी अष्ट्रेलिया भित्रिने गरेका छन्। वन नेसनको नीति लागु भएमा यो संख्या १लाख ३०हजारमा सीमित गरिने वन नेशनल पार्टीको दावी छ । प्रस्ताव लागु भएमा अहिलेको भन्दा ५लाख७०हजारले आप्रवासन दर कम हुनेछ ।
पार्टीले नागरिकता नियममा कडाइ गर्ने प्रस्ताव पनि अघि सारेको छ । नयाँ आप्रवासीहरूले सरकारी सेवा वा नागरिकता आवेदन दिनुअघि कम्तीमा आठ वर्ष पर्खिनुपर्ने सरकारको नियम छ । ह्यान्सनका अनुसार, अष्ट्रेलियाली नागरिक बन्नुअघि जो कोही यहाँका मूल्य, परम्परा र नियमहरूसँग परिचित हुन पर्छ ।

विद्यार्थी भिसामा कडाइ,अस्थायी सुरक्षा भिसाको प्रस्ताव:

वन नेशनल पार्टीले विदेशी विद्यार्थीका लागि थप कडाइ गर्ने नीति अघि सारेको छ । नयाँ योजनाअनुसार विदेशी विद्यार्थीहरूले परिवारका सदस्यहरूलाई अष्ट्रेलिया ल्याउन पाउने सुविधा हटाइनेछ । अध्ययनलाई स्थायी बसोबासका लागि पछाडीको ढोका बनाउन खोज्ने गतिविधिमा रोक लगाइने बताइएको छ ।
अवैध आप्रवासन रोक्न वन नेशनलले अस्थायी सुरक्षा भिसा -TPV_ पुनः लागू गर्ने माग गरेको छ । पार्टीका अनुसार, लेबर सरकारले -TPV_ हटाएपछि मानव तस्करहरू फेरि सक्रिय भएका छन्, जसले डुङ्गाबाट अवैध आप्रवासनको जोखिम बढाएको छ ।

कट्टरपन्थी विचारधारा बोकेका आप्रवासीलाई रोक्ने र शरणार्थी महासन्धिबाट हट्ने योजना:


वन नेशनलले अष्ट्रेलियाको सुरक्षालाई ध्यानमा राख्दै कट्टरपन्थी विचारधारा फैलाउने मुलुकका आप्रवासीलाई प्रवेश नदिने नीति अघि सारेको छ । पार्टीका अनुसार पछिल्लो समय अष्ट्रेलियामा देखिएको हिंसा र अशान्तिको एउटा कारण कट्टरपन्थी आप्रवासीहरू हुन् । जसलाई रोक्न कडा नीतिको आवश्यकता रहेको छ ।
यसका साथै, वन नेशनलले अष्ट्रेलियालाई संयुक्त राष्ट्रसंघको शरणार्थी महासन्धिबाट फिर्ता गराउने घोषणा पनि गरेको छ ।
वन नेशनलको प्रस्तावित नीति आप्रवासनलाई कडा रूपमा सीमित गर्ने, अवैध आप्रवासीहरूलाई तुरुन्त निष्कासन गर्ने, र कट्टरपन्थी विचारधाराविरुद्ध कडा कदम चाल्ने उद्देश्यमा केन्द्रित रहेको सो पार्टीले जनाएको छ । पार्टी नेतृ ह्यान्सनले अष्ट्रेलियाली नागरिकहरूको हित नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनु भएको छ ।