
क्यानबेरा,अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीहरूलाई थप नगद प्रोत्साहन दिने निर्णय गर्नु भएको छ ।
यस घोषणाले अस्ट्रेलियामा ’ट्रेडिज ’ भनेर चिनिने नयाँ पुस्ताका दक्ष कामदारलाई सहयोग पुर्याउने र निर्माण कार्यबललाई सुदृढ बनाउने उद्देश्य राखेको छ।
सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा प्रधानमन्त्री अल्बानीजले आगामी पाँच वर्षमा अष्ट्रेलियामा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखिएको जानकारी दिनु भयो । यस अभियानमा ६ सय २६ मिलियन अष्ट्रेलियन डलर (करिब ३सय९० मिलियन अमेरिकी डलर) छुट्याइएको छ ।जसका माध्यमबाट प्रशिक्षार्थीलाई आर्थिक प्रोत्साहन प्रदान गरिनेछ ।
यस नयाँ योजनामा,आवासीय निर्माणमा काम गर्ने दक्ष प्रशिक्षार्थीहरूले उनीहरूको प्रशिक्षणको क्रममा १० हजार अष्ट्रेलियन डलर (लगभग ६ हजार ३सय८अमेरिकी डलर) पाँच किस्तामा प्राप्त गर्नेछन्। यसले प्रशिक्षार्थीहरूलाई आर्थिक दबाबको सामना नगरी आफ्नो पेशामा सुधार ल्याउन सहयोग गर्ने छ।
सरकारको यो कदम प्रशिक्षार्थीहरूको तालिम र कार्यक्षमता सुधार गर्ने उद्देश्य रहेको छ, जसले निर्माण क्षेत्रलाई भविष्यमा सुदृढ बनाउने विश्वास गरिएको छ ।





