नेपाल आइपुग्यो एचपीभी खोपको १५ लाख मात्रा, मधेश बाहेक सबै प्रदेशमा वितरण

काठमाडौं । पाठेघरको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ । सरकारले पाठेघरको क्यान्सरलाई रोकथाम गर्ने लक्ष्यसँगै एचपीभी खोप अभियान २०८१/०८२ को आयोजना गर्ने निर्णय गरेको छ । यस अभियानमा करिब १७ लाख किशोरीलाई खोप दिइने योजना छ ।

हालसम्म तीन चरणमा १५ लाख ४ सय मात्रा खोप नेपाल आइपुगेको छ । खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्यायका अनुसार, उक्त खोप मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूमा वितरण गरिसकिएको छ । थप २ लाख ६६ हजार २ सय मात्रा खोप आगामी पुस २८ गते नेपाल आइपुग्ने बताइएको छ ।

यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १०/१४ वर्षका किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार, यस अभियानको उद्देश्य पाठेघरको मुखको क्यान्सरका कारण हुने अकाल मृत्युको जोखिमलाई घटाउनु हो ।