अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई नेपालीको निधन

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित च्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जना नेपाली नागरिकको मृत्यु भएको छ । मृतक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् ।

स्थानीय अखबार डेलीभोइसका अनुसार खड्का सोही होटलमा कार्यरत थिए, जबकि भट्टले जागिरको लागि आवेदन दिनको लागि उनीसँग थिए । मृतकहरूको नेपालको ठेगानाका बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा कार डुबेको सूचना प्राप्त भएको थियो । हिउँले ढाकेको सडकमा गुडिरहेको गाडी अचानक चिप्लिएर पोखरीमा खस्दा दुर्घटना भएको हो ।

घटनास्थलमा पुगेको प्रहरीले पोखरीबाट कार निकालेर भित्र रहेका दुई जनाको शव फेला पारेको थियो । प्रहरीले यो घटना बारे थप जानकारी प्राप्त गर्नको लागि फेयरफ्याक्स काउन्टी प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।