कलाकार बुद्धि तामाङले नयाँ चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरे

हैट’ थेगोबाट चर्चित भएका कलाकार बुद्धि तामाङले नयाँ चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन्। अनिल योञ्जनको लेखन र निर्देशनमा तयार हुने यस चलचित्रमा तामाङसँगै अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको अभिनय रहनेछ।

चलचित्रको पोस्टर सार्वजनिक गर्दै तामाङले, कलाकारको लुक्स उनीहरूको चरित्रअनुसार प्रस्तुत गरिएको बताए। “पोस्टरमा देखिएको पोसाक र रङले पात्रहरूको स्वभाव र सम्बन्धलाई चित्रण गर्छ। हरियो र गुलाबी रङले उनीहरूको सम्बन्धको गहिराइ र जटिलतालाई झल्काएको छ,” तामाङले बताए।

चलचित्र ‘कुस्ती’ एक पारिवारिक प्रेम कथामा आधारित हुनेछ, जसमा सम्बन्धमा रहेका जोडीले भोग्ने उतारचढावलाई मुख्य विषयवस्तु बनाइएको छ। “उनीहरू एकअर्कालाई माया गर्छन् तर स्वभावको फरकपनले एकसाथ रहन संघर्ष गर्नुपरेको छ। दर्शकले यस कथाबाट नयाँ अनुभव प्राप्त गर्नेछन्,” तामाङले भने।

तामाङले चलचित्र निर्माणको यात्रा अनुभवि टिमको साथमा सुरु गरेको उल्लेख गरे। “कथावस्तु र निर्माण टिमप्रति मेरो विश्वासले यो कदम उठाएको हुँ। कलाकारितासँगै निर्माणतर्फ अघि बढ्ने मेरो प्रयासलाई दर्शकले मन पराउनु हुनेछ भन्ने विश्वास छ,” उनले थपे।

काठमाडौँ रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र मोफसल एफडी कम्पनीको वितरणमा प्रदर्शन हुने यो चलचित्रको छायांकन आगामी फागुनमा हुनेछ। अनुषा सिनेमावुड पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘कुस्ती’ २०८२ भदौमा प्रदर्शन गर्ने योजना रहेको छ।