अल्बानीज सरकारको आवासीय अभियानमाथि १० मिलियन डलर खर्चको आलोचना

प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो वर्षको संघीय चुनावअघि आफ्नो सरकारको आवासीय नीतिहरू प्रचार गर्न १० मिलियन डलरको करदाताको रकम खर्च गर्न लागेकोमा आलोचना खेप्नु परेको  छ। आलोचकहरूले यो रकम अष्ट्रेलियाको आवासीय संकट समाधान गर्न प्रयोग गर्नुपर्ने बताउँदै यस कदमको विरोध गरेका छन्।

मध्यवर्षीय बजेट अद्यावधिकमा उल्लेख गरिएअनुसार हालसालै संसदबाट स्वीकृत हेल्प टु बाई योजना पनि प्रमुख रूपमा समावेश गरिएको छ। यो योजना विशेषगरी निम्न र मध्यम आय भएका परिवारहरूलाई घर खरिद प्रक्रियामा सहयोग पुर्‍याउनका लागि ल्याइएको हो। यसले तिनीहरूको घर किन्ने क्षमता बढाउने र उनीहरूलाई निजी घरधनी बन्न प्रेरित गर्ने उद्देश्य राख्छ।

तर, विपक्षी आवास प्रवक्तामाइकल सुक्करले यो कदमको आलोचना गर्दै सरकारको ठोस आवासीय परिणाम दिन असफलताको सङ्केत गरेको बताएका छन्। “सरकारमा आएपछि एउटा पनि घर निर्माण नगरेको अवस्थामा, अब लेबरले आवासीय असफलता लुकाउन चम्किला विज्ञापनहरूमा १० मिलियन डलर खर्च गर्न चाहन्छ,” उनले भने।

सुक्करले बढ्दो आप्रवासन तथ्याङ्कप्रति पनि चिन्ता व्यक्त गर्दै यसले आवासीय माग अझ बढाउने बताएका छन्। “आज राति हजारौं मानिसहरू आफ्नो कारमा सुत्न बाध्य छन्, यस्तो अवस्थामा यो १० मिलियन डलर घरविहीन अष्ट्रेलियनहरूको मद्दतमा प्रयोग गर्न सकिदैन र?” उनले प्रश्न गरे।

विपक्षले अल्बानीज सरकारलाई गलत प्राथमिकताहरू राखेको आरोप लगाउँदै यसलाई “जीवनकालको सबैभन्दा खराब सरकार” भएको बताएका छन्। सुक्करले यो विज्ञापन अभियानले आवासीय असुरक्षाको सामना गरिरहेका अष्ट्रेलियनहरूलाई ठोस समाधान दिन असफलताको संकेत गरेको दाबी गरेका छन् ।