युट्युबले आफ्ना क्रियटरहरूका लागि नयाँ ‘भ्वाइस रिप्लाई’ फिचर परीक्षण गरिरहेको जनाएको छ। सोमबार सार्वजनिक ब्लगमार्फत कम्पनीले क्रियटरहरूलाई भिडिओमा आएका कमेन्टमा अडिओमार्फत प्रत्यक्ष प्रतिक्रिया दिन सक्ने सुविधा उपलब्ध गराउने जानकारी दिएको हो।
यस फिचरमार्फत क्रियटरहरूले कमेन्ट सेक्सनमा रहेको ‘साउन्ड वेभ’ आइकनको सहायताले अडिओ रेकर्ड गरी कमेन्टमा पठाउन सक्छन्। अडिओ पठाइसकेपछि अन्य प्रयोगकर्ताले सो प्रतिक्रिया सुन्न र अन्तर्क्रिया गर्न सक्नेछन्। कम्पनीको दाबी अनुसार यो फिचरले क्रियटर र अडियन्सबीचको सम्बन्ध अझ नजिक र अर्थपूर्ण बनाउन सहयोग पुर्याउनेछ।
हाल यो फिचर सीमित आईओएस प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध छ भने अडिओ सुन्नका लागि पनि आईओएस उपकरण नै प्रयोग गर्नुपर्नेछ। फिचरको समयसीमा, अडिओको अधिकतम अवधि र सबै क्रियटरका लागि कहिले उपलब्ध हुनेछ भन्ने विषयमा युट्युबले थप जानकारी दिएको छैन।
