नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा, कार जित्नका लागि यी पाँच खेलाडी दावेदार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनको प्लेअफ समीकरण सोमबार पूरा भएको छ । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्न सकेनन् । क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स र एलिमिनेटरमा चितवन र कर्णाली याक्स बीच बुधबार प्रतिस्पर्धा हुनेछ ।

यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई शार्दा समूहले ७० लाख रुपैयाँ मूल्यको कार उपहार दिने घोषणा गरेको छ । कार जित्न सक्ने प्रमुख खेलाडीमा सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी, लुम्बिनीका रोहितकुमार पौडेल, चितवनका कुशल मल्ल, जनकपुरका ललितनारायण राजवंशी र चितवनका रिजन ढकाल रहेका छन् ।

दीपेन्द्र सिंह ऐरी
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी पहिलो सिजनको एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै कार जित्ने प्रमुख दावेदार बनेका छन् । उनले नेतृत्व गरेको सुदूरपश्चिमले लिग चरणमा ७ मध्ये ६ खेलमा जित हासिल गरेको छ । दीपेन्द्रले ७ म्याचमा एक अर्धशतक सहित १६७.७९ को स्ट्राइक रेटमा १९८ रन बनाएका छन्, साथै ५ विकेट पनि लिएका छन् । उनले दुई म्याचमा ‘प्लेयर अफ द म्याच’ अवार्ड पनि जितेका छन् ।

रोहितकुमार पौडेल : अलराउन्ड प्रदर्शन
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि कार जित्ने दौडमा रहेका छन् । टिम लिग चरणबाट बाहिरिए पनि रोहितले २ अर्धशतक सहित २७९ रन बनाएका छन् । उनले १३१.६० को स्ट्राइक रेटमा ७ म्याचमा प्रदर्शन गरेका छन् र ६ इनिङ्समा ८ विकेट पनि लिएका छन् ।

कुशल मल्ल
चितवन राइनोजका कप्तान कुशल मल्ल पनि कार जित्नका लागि प्रतिस्पर्धामा छन् । उनले सात म्याचमा २०२ रन बनाए, जुन १२६.२५ को स्ट्राइक रेटमा छ । उनले ८ विकेट पनि लिएका छन्, र उनका प्रदर्शनले टिमलाई प्लेअफसम्म पुर्याएको छ ।

ललितनारायण राजवंशी
जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीको पनि कार जित्ने सम्भावना छ । उनले ७ म्याचमा ४.९६ को इकोनमीमा १३ विकेट लिएका छन् । यदि जनकपुर फाइनलमा पुग्यो भने ललितसँग थप उत्कृष्ट प्रदर्शनको मौका हुनेछ ।

रिजन ढकाल
चितवन राइनोजका बायाँ हाते फास्ट बलर रिजन ढकालले पनि दमदार प्रदर्शन गर्दै ७ म्याचमा १३ विकेट लिएका छन् । उनको प्रदर्शनले उनलाई सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा पुर्याएको छ, र प्लेअफमा उनले अझ राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना छ ।