दुर्गा प्रसाई समूहले धम्क्याएर व्यवसायीबाट रकम असुलेको प्रहरीको आशंका

काठमाडौँ। मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले भारतीय अपराधी लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउन समूह परिचालन गरेको खुलासा भएको छ। प्रहरीको अनुसन्धानले प्रसाईंसँगै अन्य ३ जनाको संलग्नता पनि पत्ता लगाएको छ।

भारतबाट व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईंले ५ लाख दिएर धम्की दिन लगाएको फुयलले बयान दिएका छन्। यद्यपि, प्रसाईंले यसलाई अस्वीकार गरेका छन्। फुयलमार्फत प्रसाईंले दुई नेपाली र एक विदेशमा रहेका व्यक्तिलाई पनि योजनामा सहभागी गराएको अनुसन्धानबाट खुलेको छ। प्रहरी उनीहरूको खोजीमा छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लरेन्स विश्नोइको नाम प्रयोग गरी व्यवसायी धम्क्याएको घटनालाई संगठित अपराधमा अनुसन्धान अघि बढाएको छ। संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था अनुसार प्रसाईंलाई हिरासतमा राखिएको सीआईबीका एआईजी दीपक थापाले बताए।

प्रसाईं र उनको समूहले मारवाडी व्यवसायी र राष्ट्र बैंकका उच्च अधिकारीलाई धम्क्याएको प्रहरी अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत धम्की आएको भन्दै ६ जनाले प्रहरीमा उजुरी दिएका छन्। साथै, अन्य व्यवसायीबाट पनि धम्क्याएर रकम असुली गरिएको प्रहरीको आशंका छ।

असोज २१ मा सामाजिक अभियन्ता पुण्य गौतममाथि भएको आक्रमण प्रसाईंको निर्देशनमा भएको दाबी गरिए पनि यसको प्राविधिक प्रमाण जुट्न नसकेको प्रहरीको भनाइ छ। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको मुद्दामा धरौटीमा छुटेका प्रसाईंलाई अर्को मुद्दामा पक्राउ गरि हिरासतमा राखिएको छ।