काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि गरिसकेको छ । शुक्रबार जारी गरेको विवरणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला २ महिनायता कोरोना पोजेटिभ देखिएकोहरूको नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ केपी. १, केपी. २, केपी. ३ र केपी. ४ पुष्टि भएको हो । यो ओमिक्रोनको सब भेरियन्ट हो ।
दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो । ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी. १ र १७ जनामा केपी. २ पुष्टि भएको हो ।
यसैगरी १/१ जनामा केपी. ३ र केपी. ४ सबभेरियन्ट पुष्टि भएको थियो । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएपछि यो कतिको घातक छ भन्ने विषयमा चासो बढेको छ । सरूवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले नयाँ सब भेरियन्ट चाँडो सरेपनि घातक नरहेको बताएका छन् ।
‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने । तर, दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्ने डा. भण्डारी बताउँछन् ।
कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने उनको भनाइ छ । यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन. १ लगायत सबभेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुर लगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।