मंसिर २४, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म १५ खेल सकिएका छन् ।
अहिलेसम्म फ्रेन्चाइजीको प्रदर्शन हेर्दा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहने एक मात्र टिम बनेको छ । जनकपुरले आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसपछि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले ४-४ खेलमा ३-३ खेल जितेका छन् भने एक एक खेलमा हार बेहोरेका छन् । दुवै रनरेटका आधारमा क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।
त्यसैगरी पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाजले ३-३ खेलमा एक एक जित र २-२ हार बेहोरेका छन् भने विराटनगर किंग्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । उनीहरु क्रमश: पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।
त्यस्तै लुम्बिनी लायन्सले भने अहिलेसम्म लगातार ४ खेलमा हार बेहोरेर अंक तालिकामा पुछारमा रहेको छ ।
अहिलेसम्म टिमहरुको विश्लेषण गर्दा लुम्बिनीले प्लेअफमा बनाउने सम्भावना मुश्किल देखिएको छ । अन्य टिमले बाँकी खेलमा जित हासिल गरेमा प्लेअफको सम्भावना बनाउने अवसर खुला रहेको छ ।
अहिलेसम्म जनकपुर बोल्ट्सले अब कम्तिमा एक जित हासिल गरेमा प्लेअफमा आफुलाई सुरक्षित गर्ने छ ।