काठमाडौं । रोल्पामा जन्मिएकी ज्योति मगर नाम र दाम कमाएकी गायिकामा पर्छिन् । उनी एक बोल्ड मोडल पनि हुन् । उनले अभिनय गरेका म्युजिक भिडियो, उनले गाएका गीतहरु प्रायः सबै हिट छन् । यो सफलता उनले सजिलै पाएकी भने होइनन् । उनकाे याे सफलताभित्र अनगिन्ती असफलता र संघर्षका कहालीलाग्दा कथाहरु पनि छन्, जसले उनलाई पहिचान दिलायो । बलियो बनायो । सफल बनायाे ।
प्रशंसक, दर्शक सबैले ज्योतिको पर्दा अगाडीका लवाइ, खवाइ, उत्तेजना मात्रै देखेका छन् । पर्दा पछाडिका उनका संघर्ष, आँशु, रोदन कसैले नियाल्ने चेष्टासम्म गरेको पाइँदैन । नियालेका छन् त केवल स्टेज र क्यामेरा अगाडीका उत्ताउलाेपन ।
आउनुस् आज ज्योतिका संघर्षका तीतामिठा क्षणबारे जानौँ…।
मध्यमवर्गीय परिवारकी ज्योतिको एक दिदी, एक भाइ र आमा बुवा छन् । उनको पढाइ–लेखाइ रोल्पामै भयो । सानोमा उनी केटा स्वभावकी थिइन् । पढ्नमा भन्दा उनलाई खेल्नमा बढी इच्छा जाग्थ्यो । चकचके पनि थिइन् । नाचगान भएको ठाउँमा त उनी जसरी पनि पुगिहाल्थिन् । पढाइमा ध्यानै नदिएपनि उनकाे पढाइ भने राम्रो थियो, पहिलो–दोस्रो भइरहन्थिन् । उनलाई खाना पकाउन पनि सानैदेखि आउँथ्यो, आमाले ६ वर्षको उमेरमा नै सिकाएकी थिइन् । गाउँमा छँदा उनको बाल्यकाल घाँसदाउरा, पानी पँधेरोमै बित्यो ।
सानोमा उनी बिरामी भइरहन्थिन् । भरपर्दो अस्पताल थिएन, सबैजना आत्तिन्थे । त्याे क्षण उनी बिर्सनै सक्दिनन् । द्वन्द्वकाल सुरु भएपछि उनको स्कुल फेरियो, दाङमा पढ्न थालिन् । यता आएपछि उनको पढाइ खस्कियो । सुरूमा त नयाँ स्कुलमा भर्ना पाउनै गाह्रो पर्यो, उनी बोल्नै सकिनन्, रोइन् मात्रै । सर्टिफिकेट माग्याे स्कुलले नाै मा पढ्ने बेलामा, लिन जान सम्भव नै थिएन । अहिले जस्तो यातायातको सहजता पनि थिएन त्यतिबेला । सह प्राध्यापकले भने भर्ना हुन्छ भन्ने अभिलाषा दिलाए, भर्ना पनि भइन् ।
खुशी हुन धेरै ठुलो कुरा चाहिँदैन उनलाई, भर्ना पाएपछि दंग परिन् ।
त्यहाँबाट उनले राप्ति साहित्य परिषद्मा जोडिन पाइन्, सरहरुले अवसर दिए । त्यहाँ पढ्ने बेलामा धेरै समस्या भयो । कापी-कलम सकिँदा, खानेकुरा सकिँदा किन्न सक्ने अवस्था थिएन । फोन सम्पर्क पनि थिएन । गाडी जाँदा खबर पुर्याइदिनु है भन्नुपर्थ्याे ।
दुई तीन महिनाको बिचमा आमा आउँथिन् भेट्न । ‘मलाई ती मेमोरी निकै मिठो लाग्छ । आमा आउँदा धेरै खाना पकाउँथेँ, अरु बेला चाहीँ चामल सकिएला भन्ने निकै पीर लाग्थ्यो । १३/१४ वर्षको उमेरमा मैले एक्लै त्यसरी जीवन काटेको छु । त्यही कुराले पनि होला मलाई अहिले यति बलियो बनाएको । त्यतिबेलाको ज्योतिको मलाई निकै माया लाग्छ, अबाेध थिएँ । अहिलेको ज्योतिलाई पो धेरैले माया गर्नुहुन्छ त ।’
दाङमा उनले गीतसंगीत क्षेत्रका धेरैलाई चिन्ने अवसर पाइन् । गजेन्द्र बहकरीले उनलाई माथि उठाउन सहयोग गरे । उनले ज्योतिलाई सांगितिक, सामाजिक प्रतियोगीतातिर लैजान थाले । तुलसीपुरमा दोहोरी प्रतियोगीता हुँदा ज्योतिले आफ्नी साथीसँगै भाग लिएकी थिइन् । गजेन्द्रसँग त्यहीँ भेट भएको थियो उनको । उनले ज्योतिको गायकीको खुलेर प्रसंसा गरे, साथै अघि बढ्न सहयोग गर्ने पनि आश्वासन दिए । उनको सहयोगपछि ज्योतिलाई केही सहज भयो । धेरै प्रतियोगितामा उनले जित हाँसिल गरिन् ।
दोहोरी गाएर त्यत्रो कार्यक्रममा हिँड्न सकिन्छ भन्ने नै थाहा थिएन उनलाई । पहिलो पटक भैरहवामा जाँदा गाउने आइडिया नभएर उनी बाहिरिएकी थिइन् । नौ कक्षा पास भएपछि नयाँ स्कुल सुरु भयो । दिनचर्या बित्दै थियो, १० मा अलिकति गाह्रो भयो । ट्युसन पढ्न उनलाई सहज थिएन, आर्थिक अभावका कारण । किताब बोकेरै उनी कतिपय कार्यक्रममा सहभागी भएकी थिइन् । गाएको भत्ता पाउँथिन् त्यतिबेला, दिनको पाँच सयदेखि सातसयसम्म । हावा तालमा एसएलसी दिइन्, पास पनि भइन् ।
१० कक्षाकाे पढाइ सकाएपछि उनी काठमाडौं आइन् । यहाँ आएपछि दोहोरी साँझमा काम गर्न थालिन् । काठमाडौंँ छिर्दा त्यति गाह्रो भने झेल्नु परेन, जागिर पाइसकेकी थिइन् दोहोरी साँझमा । तर काम पाएपनि कहाँ बस्ने के खाने भन्ने कुनै ठेगान थिएन । पछि काेठा लिइन् ।
गीत रेकर्ड गरिन् । ‘मायालुको मन किन टाढा भो’ भन्ने एल्बमको तयारी भयो । गीत पनि रेकर्ड भयो । पछि चलेको गायिकाको नाम राख्नुपर्छ भनेर विष्णु माझीलाई राखियो । उनले धेरै दुर्व्यवहार झेलिन् सुरुवाती दिनमा । कसैले लगाएको लुगा समेत अर्को लगाउ भनेर हेप्थे भने कसैले गीत गाउँदै गर्दा माइक तानिदिन्थे ।
विस्तारै उनको आवाज चिनिन थालेपछि भने उनले दुर्व्यवहार झेल्नु परेन । ती हेप्ने मानिसहरुले २/३ हजार पारिश्रमिक लिने बेलामा ज्योतीले पाँचहजार भन्दा माथि पाउँथिन् । तर उनले डिमान्ड भने गर्ने गरेको थिइनन्, डराउँथिन्, लजाउँथिन् ।
एक पटक चिनेजानेका दाइहरुको टोलीसँग उनी साथीसँगै ककनी घुम्न गइन् । त्यतिबेला नराम्रो हल्ला फैलाइयो । सबैले नराम्रो नजरले हेर्न थाले । उनी छाँगाबाट खसेजस्तो भइन् । इज्जत गएजस्तो भयो । दोहोरी साँझको बाथरुममा पुगेर ऐना हेरिहेरि रोइन् । त्यतिबेलाको रुढिवादी सोचले उनलाई निकै विचलित बनायो । आफू गलत नहुँदा नहुँदै पनि इज्जतमा दाग लगाइँदिँदा उनी धेरै दिनसम्म राेइन् । कसैको सपोर्ट नै पाइनन् उनले, एक्लै संघर्ष गरिन् । नयाँलाई यसरी टुटाउन नहुने, सपोर्ट गर्नुपर्ने उनको भनाइ छ ।
उनी बोल्नै सक्दिन थिइन्, त्यसैले काम मागिनन् कहिल्यै । त्यसैले धेरै लामो समयसम्म दोहोरी साँझमै सिमित भइन् । तर उनले काम नमागेपनि उनको कलाले धेरैलाई तान्यो, अवसर पाइरहिन् । उनको आत्मविश्वास झन्झन् बढ्न थाल्यो ।
एक पटक मलेसियाको कार्यक्रमा निसा सुनारले धोका दिएपछि कसैले ज्योतिले पनि राम्रै गाउँछ भनेर रिकमेन्ड गर्यो र मिलनले मलेसियाको स्टेज कार्यक्रममा ज्योतिलाई पनि समेटे । त्यसबेला मलेसियामा पाँच वटा कार्यक्रम गरेबापत उनले ३० हजा पारिश्रमिक पाएकी थिइन् । सबैले उनको प्रसंसा गरे, अवसरको आश्वासन दिए ।
काेठामा टिभी ल्याएपछि भने ज्योतिको लवाइ पनि परिवर्तन हुन थाल्यो । ज्योतिले एक युट्युब अन्तर्वातामा भनेकी छिन्– ‘म एकैपटक लुगा खोलेर आएको होइन । टिभी हेरेर सिकेकी हुँ । मेरो गीत ‘उही मुलाको सिन्की’ मा पनि ड्रेसको कन्सेप्ट मेरै थियो । त्यो कामलाई सर्वाधिक रुचाइयो । ‘जिम्मल बाउको छोरी’ पनि हिट भयो, त्यसमा छोटो गुन्यु लगाएकी थिएँ । विस्तारै परिवर्तन भएको हो मेराे जीवनशैली ।’

उनलाई ज्योति मगर भनेर चिनाएको गीत पनि ‘उही मुलाको सिन्की उही मुलाको चानाले’ नै हो ।
अहिले गायकीबाटै ज्याेतिले काठमाडाैंमा घर समेत किनिसकेकी छिन् ।
‘अब चाहीँ मानिसहरूले अप्रिसियट गर्छन् भन्ने समयमा मेरो बदनाम सुरु भयो । ‘ढाडे बिरालो’ भन्ने गीत निस्किएपछि भल्गर भन्न थालियो । त्यसले मलाई नराम्ररी हान्यो, डिप्रेशनमा नै जाने गरी । लोकप्रियता, नाम भन्ने कुरादेखि नै नैराश्यता हुन सुरु भएको थियो मलाई । जब मैले ती चीजहरुसँग फाइट गरेँ, आफूलाई बलियो बनाएँ, अब चाहीँ म बेफाइदा देख्दिन यो क्षेत्रमा । फाइदै फाइदा देख्छु । कसैको गालीले छुँदैन अब मलाई । नाम र बदनाम दुवैले फाइदै गरेको छ’, ज्योति भन्छिन् ।
सेलिब्रेटी भएपछि आफ्नो व्यक्तिगत जीवन नहुँदो रहेछ भन्ने गुनासो गर्छन् धेरै कलाकारहरू। तर ज्योति भने विन्दास छिन् । भन्छिन्– ‘मैले ती कुराहरु पार गरिसकेँ । अब मलाई ज्योति नराम्रो भन्दा पनि चित्त दुख्नै छोडिसक्यो । म बाटोमा गएर पानीपुरी पनि खाइदिन्छु । बाटोमै पनि नाचिदिन्छु । मलाई बालै छैन अब ।’
मान्छे आफूमा रमाउन सक्यो भने नामले खुशी, दुःख नदिने उनको भनाइ छ । धैर्यता, लगनशिलताले मान्छेलाई कुनै न कुनै दिन अगाडी बढाउने उनी बताउँछिन् । ‘कहिलेकाहीँ हामी सोचे अनुरुप सफल नहुँदा बाटो नै परिवर्तन गछौँ । त्यस्तो गर्नुहुँदैन, कर्म गर्नुपर्छ र धैर्यता राख्नुपर्छ । सफल अवश्य भइन्छ’, ज्योति सुनाउँछिन् ।





