नेपाल–अस्ट्रेलिया सम्बन्ध पासपोर्ट र भिसामा मात्रै सीमित

अहिलेसम्मको तथ्यांकले अस्ट्रेलियामा करिब ७५ हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेको देखाउँछ। गत वर्षमात्रै, यी विद्यार्थीहरूले अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा करिब १ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम अस्ट्रेलियाको ३४ अर्ब डलरको शैक्षिक उद्योगमा तेस्रो ठूलो योगदान दिने मुलुकको रूपमा नेपाललाई उभ्याउँछ। चीन र भारतपछि नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनका लागि सबैभन्दा बढी आउने गरेका छन्।

तर, बढ्दो नेपाली उपस्थिति र आर्थिक योगदानका बाबजुद नेपाल–अस्ट्रेलिया कूटनीतिक सम्बन्ध भने तुलनात्मक रूपमा निकै कमजोर देखिन्छ। ६ दशकअघिदेखि स्थापित सम्बन्धले आपसी व्यापार र सहयोगमा ठोस प्रगति गर्न सकेको छैन।

नेपालले २००७ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा दूतावास स्थापना गरेपछि अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि यो एउटा महत्वपूर्ण केन्द्र बनेको छ। तर, यस दूतावासको स्थापना भएको १५ वर्षभन्दा बढी भइसक्दा पनि दुई देशबीच उच्चस्तरीय वार्ता कहिल्यै भएको छैन।

राजा महेन्द्रको भ्रमणले नेपाललाई दुई हवाईजहाजको सहयोग दिलाएको समयदेखि अहिले नेपाल अस्ट्रेलियाका लागि तेस्रो ठूलो विद्यार्थी आपूर्ति गर्ने मुलुक बनेको छ। तर,  उता २० औं वर्षदेखि नेपालले भने ‘अस एड’ को करिब दुई मिलियन डलर सहयोगकै आसपासमा बसेको छ ।, जुन आपसी सम्बन्धका लागि पर्याप्त देखिँदैन।