सन् २०२५ को जनवरीदेखि अस्ट्रेलियनहरूका लागि बेलायतको यात्रा नियममा परिवर्तन

सन् २०२५ को जनवरी ८ देखि, छ महिनाभन्दा कम समयका लागि बेलायत जाने अस्ट्रेलियन पर्यटक र व्यवसायिक यात्रुहरूले इलेक्ट्रोनिक ट्राभल अथाेराइजेसन (ETA) लिनुपर्नेछ। यो नयाँ व्यवस्था अन्तर्गत, भिसा-रहित यात्रा सुविधा पाएका अस्ट्रेलियनहरूले अब अनलाइन आवेदन दिनु पर्नेछ।

ETA को शुल्क करिब AUD $20 (वा £10) हुनेछ। यो सन् २०२४ को नोभेम्बर २७ नै देखि अनलाइन सेवा सुरु भैसकेको छ । आवेदन UK ETA एप वा बेलायत सरकारको आधिकारिक वेबसाइटमार्फत दिन सकिन्छ। यो अनुमति दुई वर्षको लागि वा पासपोर्टको म्याद समाप्त नहुन्जेलसम्मका लागि मान्य हुनेछ। यसले हरेक पटक छ महिनासम्म बेलायतमा बस्न अनुमति दिनेछ।

बेलायत सरकारले सबै यात्रुहरू, बालबालिका र शिशुसमेत, ETA लिनुपर्ने जनाएको छ। एक पटक आवेदन दिइसकेपछि रकम फिर्ता नहुने र यात्रा योजनामा परिवर्तन भए पनि शुल्क फिर्ता पाइँदैन। आवेदन प्रक्रिया पूरा गर्न आवेदकले आफ्नो पासपोर्ट र अनुहारको स्पष्ट फोटो अपलोड गर्नुपर्नेछ।

धेरैजसो आवेदन तीन कार्य दिनभित्र प्रक्रिया गरिनेछ, तर केही अवस्थामा लामो समय लाग्न सक्ने भएकाले बेलायत सरकारले समयमै आवेदन दिन सुझाव दिएको छ।

द्वैध ब्रिटिश वा आयरिस नागरिकता भएका अस्ट्रेलियनहरूले आफ्नो ब्रिटिश वा आयरिस पासपोर्ट प्रयोग गरेर यात्रा गरेमा ETA आवश्यक पर्नेछैन।

बेलायत अस्ट्रेलियन पर्यटकहरूका लागि लोकप्रिय गन्तव्यहरूमध्ये पाँचौँ स्थानमा पर्छ। सन् २०२३–२४ को तथ्यांकअनुसार, बेलायतसँगै इन्डोनेसिया, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका र जापान अस्ट्रेलियनहरूको मुख्य गन्तव्य हुन्।

यो नयाँ नियमले अन्तर्राष्ट्रिय यात्रुहरूको सुरक्षा मजबुत बनाउने उद्देश्य राखेको छ। बेलायत जान योजना बनाइरहेका यात्रुहरूलाई यी नयाँ आवश्यकताहरूबारे जानकारी राख्न र समयमै यात्रा गर्न योजना बनाएका यात्रुहरूले यी नयाँ प्रावधानहरूबारे जानकारी राखेर समयमै आवेदन दिन सल्लाह दिइएको छ।