सोनाक्षी सिन्हाले बुवा शत्रुघ्नसँग कपिलको शोमा गरिन् रोचक खुलासा

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यो वर्ष जुन महिनामा आफ्ना लामो समयदेखि प्रेममा रहेका जहीर इकबालसँग विवाह गरेकी थिइन् । विवाहका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपनि उनीहरूले फरक धर्मका कारण ट्रोलिङ र आलोचनाको सामना गर्नुपरेको थियो ।

विवाहपछि सोनाक्षी निकै खुसी देखिन्छिन् । हालै उनी पतिसहित पिता शत्रुघ्न सिन्हा र आमा पुनम सिन्हासँग द ग्रेट इन्डियन कमेडी शोमा सहभागी भइन् । कार्यक्रम सोनाक्षी, उनको परिवार र पति जहीरको उपस्थितिले निकै रमाइलो भएको थियो ।

कार्यक्रमको क्रममा सोनाक्षीले रोचक खुलासा गर्दै आफ्ना बुवा शत्रुघ्न सिन्हालाई ठट्टा गर्दै भनिन्, “तपाईंले आफ्नो ज्वाइँलाई राम्ररी चिन्नुभएको छैन ।” यसमा उनले थप्दै हाँस्दै भनिन्, “यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र उहाँ (जहीर) हुन् ।”

जहीरले मुस्कुराउँदै यसलाई अस्वीकार गर्दै भने, “यो झूट हो ।” नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै जवाफ दिए, “त्यसो भए छोरी सही ठाउँमा गइन् ।” यसले शोको वातावरण झन् रमाइलो बनायो । सिन्हा परिवारको सामूहिक उपस्थिति र हास्य ठट्टाले शोमा थप उत्साह ल्याएको थियो ।