जसपा नेपालको मेयर उम्मेदवारका रूपमा तेस्रो लिङ्गी महिलाको उम्मेदवारी

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन्। हनी महर्जन मेयर पदका लागि र मौनी महर्जन वडा नं. ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार, मायाको पहिचान नेपालको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हनी र मौनीले उम्मेदवारीको औपचारिक घोषणा गरेका थिए। यस अवसरमा हनी महर्जनले कीर्तिपुर नगरको विकास र सुधारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नगरलाई भ्रष्टाचारमुक्त, स्वच्छ र सुन्दर बनाउन काम गर्ने योजना सार्वजनिक गरिन्।

उनले आफ्ना चुनावी प्राथमिकताहरूमा उद्यमशीलता प्रवर्द्धन गर्ने, युवा वर्गको रोजगारीको अवसर बढाउने, र कीर्तिपुर नगरलाई पर्यटकीय दृष्टिकोणबाट आकर्षक शहरका रूपमा विकास गर्ने योजनाहरू प्रस्तुत गरिन्। हनीका अनुसार, उनले पर्यटकीय र ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्धन गर्न चाहन्छिन्, साथै नगरको भौतिक पूर्वाधारमा सुधार ल्याउने प्रतिबद्धता जनाइन्।

यससँगै, हनी महर्जनले कीर्तिपुरलाई एक आदर्श नगर बनाउने उद्देश्यका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै, समावेशी विकास र सामाजिक न्यायका लागि काम गर्ने वचन दिइन्।