अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा ऋचा र शंकरविरुद्ध उजुरी

नायिका तथा निर्मात्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयमा ठगी आरोपमा उजुरी परेको छ। प्रहरीका अनुसार, अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उजुरी दर्ता गरिएको हो। यद्यपि, उजुरी कसले दिएको हो भन्ने विषयमा प्रहरीले कुनै जानकारी खुलाएको छैन।

अमेरिकामा रहेर फिल्म ‘तुलसी’ निर्माण गरेका घिमिरे दम्पती लामो समयपछि फिल्म निर्माणमा सक्रिय भएका छन्। उनीहरूको नयाँ फिल्म ‘तेल भिसा’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मले अमेरिका पुगेपछि नेपालीहरूले भोग्नुपरेका कठिनाई र पीडाका कथाहरूलाई पर्दामा उतार्ने प्रयास गरेको छ। हाल फिल्मको प्रचारप्रसारका लागि ऋचा र शंकर नेपालमै रहेका छन्।