काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।
नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।
पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ ।
काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।
विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिबद्धतालाई सम्मान गर्ने तर्फ काउन्सिल सदैव सचेत एवम् क्रियाशील भएको उल्लेख छ ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ ।
साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्ने जस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत काउन्सिलले विशेष अपिल गरेको छ ।






