नोभेम्बर ४ तारिखका दिन साँझ अस्ट्रेलियाको एडिलेडस्थित वाटल फ्लटको मेन साउथ रोडमा भएको भीषण सडक दुर्घटनामा नेपाली आमा-छोरीको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
दुर्घटनामा कारमा सवार आमा र छोरीको घटनास्थलमै निधन भएको थियो। छोरा निराजन श्रेष्ठ गम्भीर घाइते भएका छन् र हाल उनको आइसियूमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, ट्रक र कार ठोक्किएपछि अर्को एक कार समेत दुर्घटनामा परेपछि घटनाले झन् भयावह रूप लिएको हो। यस दुर्घटनामा तीनवटा सवारीसाधनका सातजना घाइते भएका छन्। ती सबैको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।
दुर्घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्न नेपाली समुदाय र सामाजिक संस्थाहरूले गोडफण्डमी अभियान सुरु गरेका छन्। आमा-छोरीको शव नेपाल फिर्ता गर्न र निराजनको उपचारका लागि कम्तिमा ७५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य राखिएको छ।
अभियान सुरु भएको केही दिनमै ४५ हजारभन्दा बढी रकम जुटिसकेको छ। यो अभियानमा नेपाली समुदायको व्यापक समर्थन र सहभागिता देखिएको छ।
यस दु:खद घटनाले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई गहिरो चोट पुर्याएको छ। पीडित परिवारलाई सहयोग र सहानुभूति प्रदान गर्न विभिन्न संघसंस्थाहरू र स्थानीय समुदाय सक्रिय छन्।






