सिड्नी, अष्ट्रेलिया — सिड्नीमा आगामी २३ नोभेम्बर २०२४ मा आयोजना हुने नेपाल फेष्टिभल २०२४ मा न्यूसाउथवेल्स (एनएसडब्ल्यू) राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन्। यो महोत्सवको इतिहासमा पहिलो पटक राज्यका प्रिमियर प्रमुख अतिथिको रुपमा सहभागी हुन लागेका हुन्, जसले यसलाई अझ विशेष बनाएको छ। यस अवसरमा एनएसडब्ल्यूका अन्य उच्चपदस्थ राजनीतिक नेताहरू पनि महोत्सवमा उपस्थित हुनेछन्।

नेपाल फेष्टिभलको तयारीलाई उच्च प्राथमिकता दिइएको छ र यस पटकको कार्यक्रमसँगै नेपालका विभिन्न सांस्कृतिक र पारम्परिक पक्षहरूलाई प्रदर्शन गर्न विशेष पहल गरिनेछ। महोत्सवको स्थल, सिड्नीको डार्लिङ हार्बरस्थित तुम्बालोङ पार्कमा ३०,००० भन्दा बढी दर्शकहरूको सहभागीता अपेक्षित गरिएको छ।
यस वर्षको महोत्सवमा नेपाल हाउसमा ९ वटा व्यवसायिक संघसंस्थाले नेपालको परम्परागत मूर्तिकला, काष्ठकला, चित्रकला लगायतका प्रदर्शनी राख्नेछन्। साथै, नेपाली खानाका स्वादिष्ट स्टल, नेपालका विभिन्न हस्तशिल्प र सामग्रीहरूको स्टल र अन्य सेवा तथा सूचनासम्बन्धी स्टलहरू पनि महोत्सवमा समावेश हुनेछन्।

ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन मुख्य प्रायोजकको रुपमा यस महोत्सवको समर्थन गर्दैछन्। यससँगै, सांगीतिक प्रस्तुतिका लागि दि एक्स व्याण्ड, गायक हेमन्त शर्मा र गायिका आस्था राउतलाई प्रमुख कलाकारको रुपमा आमन्त्रण गरिएको छ। महोत्सवको उद्घाटन दिन सांस्कृतिक परेडको आयोजनासमेत गरिनेछ।

नेपाल फेष्टिभलको मुख्य उद्देश्य नेपाली संस्कृति, खाना र परम्पराको प्रदर्शन गर्नु र अष्ट्रेलियामा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई बलियो बनाउनु हो। एनआरएन अष्ट्रेलिया द्वारा प्रत्येक दुई वर्षमा आयोजना गरिने यो महोत्सव नेपाली दूतावास, पर्यटन बोर्ड, वाणिज्यदूतको कार्यालय र मल्टिकल्चरल न्यूसाउथवेल्सको सहकार्यमा सम्पन्न हुनेछ।
छ वर्षपछि यस महोत्सवको आयोजन स्थल सबैका लागि परिचित र ऐतिहासिक स्थान सिड्नीको प्रसिद्ध डार्लिङ हार्बरमा रहेको, तुम्बालोङ पार्कमा पुनः आयोजना हुन लागेको हो, जुन अघिल्लो दुई महोत्सवहरुमा उपलब्ध नभएको कारण अन्यत्र आयोजना गरिएको थियो। यस महोत्सवको माध्यमबाट अष्ट्रेलियामा रहेका नेपाली समुदायले आफ्नो सांस्कृतिक धरोहरलाई नयाँ र विस्तारित दर्शक वर्गसम्म पुर्याउन महत्वपूर्ण अवसर पाउनेछन्।





