अष्ट्रेलियामा Whooping Cough को महामारी

Whooping Cough, जसलाई पर्टुसिस पनि भनिन्छ, ब्याक्टेरियाबाट सर्ने एक अत्यधिक संक्रामक रोग हो, जुन खोक्दा वा हाच्छ्युँ गर्दा फैलिन्छ। यो गम्भीर अवस्थाहरूमा निमोनिया, झड्का (सिजर) र मस्तिष्कमा क्षतिजस्ता स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ।

अष्ट्रेलियाको इम्युनाइजेसन फाउन्डेसन (IFA) को तथ्यांकअनुसार यस वर्षको अन्त्यसम्म थप हजारौँ केस बढ्न सक्ने अनुमान गरिएको छ।

Whooping Cough के हो?

Whooping Cough को मुख्य लक्षण एक प्रकारको गम्भीर र लामो समयसम्म चल्ने खोकि हो, जसमा “Whooping” जस्तो आवाज आउँछ। यसको संक्रामक अवधि तीन हप्ता सम्म रहन सक्छ, र यसले कमजोर स्वास्थ्य भएका व्यक्तिहरूमा ठूलो स्वास्थ्य जोखिम निम्त्याउन सक्छ।

अष्ट्रेलियामा Whooping Cough का केस उच्च विन्दुमा

यस वर्ष, अष्ट्रेलियाले हालसम्म ४१,०१३ Whooping Cough का केसहरू रेकर्ड गरेको छ, जुन दैनिक औसतमा लगभग १३० केस हुन्छ। यो संख्या २०११ मा भएको अघिल्लो रेकर्ड ३८,७४८ लाई पार गर्दै उच्च बिन्दुमा पुगेको हो। COVID-19 महामारीको क्रममा सामाजिक सम्पर्क सीमित भएपछि केसहरू कम भएका थिए, तर अहिले महामारीपछिको स्तरलाई समेत उछिनेर संख्यामा वृद्धि देखिएको छ।

सबैभन्दा बढी प्रभावित उमेर समूह १० देखि १४ वर्षका बालबालिका रहेका छन्, जसले कुल केसको लगभग ४०% प्रतिनिधित्व गर्छन्। त्यस्तै, ५० वर्ष भन्दा माथिका अष्ट्रेलियाली वयस्कमध्ये पाँच जना मध्ये एक जनाले मात्र हाल Whooping Cough को खोप अद्यावधिक गरेका छन् भने २०२३ मा चार जना किशोरकिशोरीमध्ये एकले बुस्टर खोप गुमाएका छन्, जसले समुदायमा प्रतिरक्षाको अभाव देखाउँछ।

स्वास्थ्य अधिकारीहरूले यस महामारीलाई नियन्त्रणमा राख्न खोप अभियान र जनचेतनामा जोड दिइरहेका छन्।