कालो वर्णको छोरालाई जन्म दिएपछि सम्बन्ध विच्छेदको संघारमा चिनियाँ महिला

सांघाई :चीनको सांघाईमा एक महिलाले सी–सेक्सनबाट कालो वर्णको शिशुलाई जन्म दिएपछि उनको वैवाहिक जीवनमा समस्या उत्पन्न भएको छ। स्थानीय सञ्चारमाध्यम चाइना टाइम्सका अनुसार शिशुको जन्मपछि पतिले पितृत्व परीक्षणको माग गरेका छन्, जसले चीनमा सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

ती ३० वर्षीया महिलाले आफ्नो व्यथा सामाजिक सञ्जाल प्लेटफर्म वेबोमा साझा गरेकी छिन्। पोस्टमा उनले शिशुको रङका कारण आफ्नो पति र आफूबीच विश्वास संकट उत्पन्न भएको उल्लेख गरेकी छन्। ती महिलाले शिशुको जन्मपछि पहिलोपटक भेट्न आएका पतिले शिशुको छाला कालो देखेपछि स्तब्ध भएको र शिशुलाई बोक्नसमेत अस्वीकार गरेको बताएकी छिन्।

महिलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो अनुभव भाइरल बनेको छ। उनले आफ्नो कुनै पनि कालो वर्णका व्यक्तिसँग सम्बन्ध नरहेको दाबी गर्दै, पितृत्व परीक्षणमा सहमति जनाएकी छिन्। उनीले भनेकी छन्, “शिशुको जन्म सामान्य रूपमा खुसीको पल हुनुपर्नेमा म अहिले वैवाहिक सम्बन्ध जोगाउन संघर्ष गरिरहेकी छु।”

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनामा मिश्रित प्रतिक्रिया जनाएका छन्। कतिपयले नवजात शिशुहरूको छालाको रङ जन्मजात अस्थायी रुपमा गाढा वा कालो देखिन सक्ने भन्दै यसमा कुनै अनौठो कुरा नरहेको बताउँदै आएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “नवजात शिशुहरूको छाला पातलो र रक्तसञ्चार कमजोर हुने भएकाले छालाको रङ केही समयपछि परिवर्तन हुन सक्छ।”

तर, केहीले भने पतिले आफ्नै श्रीमतीप्रति शङ्का गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्। धेरैले पतिको मागलाई अविश्वासपूर्ण र अस्वाभाविक व्यवहारको रूपमा लिएका छन् भने कतिपयले शंका र तनाव समाधानका लागि दुवै पक्षले विस्तृत छलफल गर्ने सुझाव दिएका छन्।

पितृत्व परीक्षणको परिणामले यस घटनाको वास्तविकता उजागर गर्ने आशा गरिए पनि समाजमा यस्ता परिस्थितिहरूमा उत्पन्न हुने विश्वास संकटलाई पुनर्विचार गर्नुपर्ने सुझावहरू व्यक्त भएका छन्।