पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान

काठमाडौं— विजय बराल अभिनीत नयाँ नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले घरेलु बजारमा उल्लेखनीय व्यापार गरिरहेको छ। आइतबार निर्माण पक्षले शनिबारसम्मको कमाइ सार्वजनिक गर्दै १० दिनमा फिल्मले १७ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिएको छ।

शनिबार ३ करोड ८९ लाख कमाइ गर्दै फिल्मले एकैदिन सबैभन्दा बढी कमाउने नेपाली फिल्मको कीर्तिमान राखेको छ, जुन अहिलेसम्मको सबैभन्दा उच्च आँकडा हो। यसअघि शुक्रबार पनि फिल्मले २ करोड ९९ लाख रुपैयाँ कमाइ गरेको थियो।

सर्वाधिक शो प्राप्त गर्ने नेपाली फिल्मको कीर्तिमान

फिल्मले हालसम्मकै बढी शो पाउने नेपाली फिल्मको कीर्तिमान समेत बनाएको छ। सेभेन सिज निर्माण संस्थाका अनुसार शनिबार ‘पूर्णबहादुरको सारंगी’ देशभरका ४६५ भन्दा बढी शो मा प्रदर्शन भएको थियो, जुन आइतबार पनि लगभग सोही संख्यामा कायम रह्यो। यसअघि ‘बेहुली फ्रम मेघौली’ ले ३३५ शो प्राप्त गरेको थियो, जुन कीर्तिमानलाई ‘पूर्णबहादुरको सारंगी’ ले तोडेको छ।

मध्यरातका शो पनि, ऐतिहासिक कमाइको अपेक्षा

दर्शकको मागलाई ध्यानमा राख्दै केही हलहरूले मध्यरातका शो समेत राखेका छन्। व्यापारको गति हेर्दा यसले नेपाली फिल्म उद्योगमा ऐतिहासिक आम्दानीको रेकर्ड राख्ने सम्भावना देखिएको छ।

लेखन र निर्देशनमा सरोज पौडेल, बलियो कलाकारको उपस्थिति

फिल्म ‘पूर्णबहादुरको सारंगी’ सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, र भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको यस फिल्ममा महेश दवाडीले पटकथा र संवाद लेखेका छन्। निर्माणको जिम्मेवारी विनोद पौडेल र प्याट्रिक सुवेदीले लिएका छन्।

दर्शकबाट उत्साहजनक प्रतिक्रिया

फिल्मको लोकप्रियता र दर्शकबाट प्राप्त प्रतिक्रियाले यसलाई नेपाली फिल्म उद्योगमा नयाँ उपलब्धि मानिएको छ।